देश शिक्षा

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं, साउन १३-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ सबै विषयको नतिजा सार्वजनिक गरेको हो।

कक्षा १२ को परीक्षा गत वैशाखमा सञ्चालन भएको थियो। यही साउन १३ गतेको निर्णय अनुसार नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ। यस वर्षको परीक्षामा नियमित तर्फ २ लाख ९२ हजार १ सय ५३ जना, ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ र आंशिकतर्फ ५७ हजार १ सय ७० गरी कुल ४ लाख २८ हजार ६७ जना विद्यार्थी सहभागी भएका थिए।

सोमबार सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ३२ जना, ग्रेडवृद्धितर्फ ९ जना र आंशिकतर्फ १२ जना गरी कुल ५४ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। त्यस्तै परीक्षामा आंशिकतर्फ २३ हजार ९ सय १५ जना उत्तीर्ण भएका छन्।

ग्रेडिङ पद्दति अनुसार ९ वटा तहको ग्रेड अनुसार बोर्डले नतिजा सार्वजनिक गरेको हो। ३१ हजार विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन्। २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ५६ हजार ५ सय ३ जना रहेको छ। सबैभन्दा धेरै विद्यार्थीले मध्यम स्तरको जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ। २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थी ८६ हजार २ सय २७ जना रहेका छन्।

१.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन्। १.२१ देखि १.१६० प्राप्त गर्नेको संख्या १९ हजार रहेको छ भने ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना छन्। सबैभन्दा कम स्तरको ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ जना रहेका छन्।

परीक्षाको नतिजा नेपाल टेलिकमको १६०० मा एसएमएस गरी थाहा पाउन सकिने बताइएको छ। एनईबी स्पेस सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस गर्दा नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ।