देश

गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनुपर्छ:स्वास्थ्य मन्त्री ढकाल

धनगढी, माघ ८–स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनुपर्ने बताएका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा रहेका मन्त्री ढकालले बुधबार गेटा मेडिकल कलेजको स्थलगत निरीक्षण गर्दै शिक्षा मन्त्रालयमातहत रही निर्माणाधीन गेटा मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउनुपर्नेमा जोड दिए । मन्त्री ढकालले मेडिकल कलेजको भौतिक प्रगति सन्तोषजनक रहेकाले यसको थप विकासमा सहयोग हुने प्रतिवद्धतासमेत जनाए ।

गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाइए सुदूरपश्चिमका मात्रै नभई कर्णाली तथा प्रदेश ५ का नागरिकलाई समेत सेवा पुग्ने र भारतका छिमेकी जिल्लाबाट पनि यसै कलेजमा अध्ययनका लागि विद्यार्थी आउने उनले बताए । हरेक प्रदेशमा एकरएकवटा प्रतिष्ठान बनाउने सरकारको लक्ष्यअनुसार गेटा मेडिकल कलेजलाई प्राथमिकतामा राखिएको उनले बताए । स्वास्थ्य क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको भन्दै मन्त्री ढकालले सरकारले विनियोजन गरेको रकम समयमै खर्च गरे सरकारलेपनि आवश्यकताका आधारमा थप बजेट विनियोजन गर्ने आश्वासन दिए ।

गेटा मेडिकल कलेज निरीक्षणकै लागि गेटा पुगेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गेटा मेडिकल कलेजको भौतिक प्रगति हेर्दा आसलाग्दो देखिएको बताए । मन्त्री भट्टले गेटा मेडिकल कलेजलाई विज्ञान प्रतिष्ठानकै रूपमा विकास गरिनुपर्नेमा जोड दिए । गेटा मेडिकल कलेजको भौतिक प्रगति करिब ७० प्रतिशत सम्पन्न भएको मेडिकल कलेज पूर्वाधार निर्माण समितिले जनाएको छ । शिक्षा मन्त्रालयमातहतको मेडिकल पूर्वाधार निर्माण समिति भएकाले हाललाई पूर्वाधार निर्माणको मात्रै काम टुंगिएको पूर्वाधार विकास समितिका इन्जिनियर पवन रावलले बताए ।

मेडिकल कलेज निर्माणका लागि अनिवार्य पर्ने काम नौवटा प्याकेज बनाएर थालिएको बताउँदै उनले हाल सातवटा प्याकेज सम्पन्न हुन लागेको जानकारी दिए । मन्त्री ढकालले गेटा आँखा अस्पताल र धनगढी उप–महानगरपालिका– ३ स्थित निर्माणाधीन आर्युवेदिक अस्पतालको समेत अनुगमन गरे ।

Featured