देश

बार काउन्सिलमा वरिष्ठ अधिवक्ता ज्ञवालीको उम्मेदवारी

काठमाडौं, माघ ८–आगामी २५ माघमा हुने नेपाल कानुन व्यवसायी परिषद्को निर्वाचनमा वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले परिषद सदस्य (काउन्सिलर) मा उम्मेदवारीको घोषणा गरेका छन् । कानुन व्यवसायीहरूको हक हितको संरक्षण गरी समाज र राष्टप्रति बढी जिम्मेवारी पूर्ण सेवा सञ्चालन गर्न नेपाल कानुन व्यवसायी परिषद्को स्थापना भएको हो । परिषदले हालसम्म गरेका संस्थागत कामको निरन्तरता दिन र परिषदलाई प्रभावकारी बनाई संस्थागत र संरचनागत सुधार गर्न आफूले उम्मेदवारी दिएको ज्ञवालीले बताए ।

उनले नेपाल कानुन व्यवसायी परिषद्लाई ‘कानुनी बौद्धिक पुञ्ज’ का रूपमा विकास गर्ने र कानुनी शिक्षामा सैद्धान्तिक तथा व्यावहारिक विषयको पाठयक्रममा सन्तुलन ल्याई स्तरीय कानुनी शिक्षाको अभिवृद्धिका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाए । अन्तर्रा्ष्ट्रिय मापदण्डबमोजिम व्यावसायिक तथा व्यावहारिक शिक्षाको पाठ्यक्रम बनाउन जरूरी रहेको भन्दै उनले यस्तो पाठ्यक्रम लागू गर्न पहल गर्ने प्रतिवद्धता पनि जनाए । नवोदित कानुन व्यवसायीको दक्षता अभिवृद्धि र हाल प्रकाशित हुँदै आएको वार्षिक कानुन जर्नललाई स्तरीय रूपमा प्रकाशन गर्ने उनको प्रतिवद्धता छ ।

सर्वोच्च अदालतले प्रदान गर्ने वरिष्ठ अधिवक्ता उपाधि कानुन व्यवसायी परिषद्को सिफारिसलाई समेत आधार मानेर प्रदान गर्ने व्यवस्था मिलाउने, न्यायाधीश नियुक्ति गर्दा न्याय परिषद्ले नेपाल कानुन व्यवसायी परिषद्सँग परामर्श गर्ने परिपाटीको सुरूवात गर्नेजस्ता एजेण्डा पनि उनले अघि सारेका छन् । कानुन व्यवसायीको आचारसंहिता अनिवार्य रूपमा कार्यान्वयन गरी व्यवसायलाई मर्या्दित बनाउने, परिषदबाट वितरण गरिने सेवा र सुविधाको वितरण समावेशि बनाउने र परिषदलाई संघीय संरचनामा विकास गर्ने एजेण्डा आफूले अघि सारेको उनले बताए ।

Featured