देश

प्रदेश सांसद मनाङे र एन्फा जिल्ला अध्यक्ष गुरुङबीच आरोप प्रत्यारोप

पोखरा, माघ ८–गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङले ठगी गरेकाले झापड हानेको बताएका छन् । बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सांसद मनाङेले अध्यक्ष गुरुङले बदमासी गरेकाले हात हालेको बताएका हुन् । मंगलबार लेखनाथको भण्डारढिकमा आयोजित मुख्यमन्त्री फुटबल कपको उद्घाटनका क्रममा अध्यक्ष गुरुङलाई उनले झापड हानेका थिए । सांसद मनाङेले अध्यक्ष गुरुङले ठगी गर्दै हिँडेको आरोप लगाउँदै भने, ‘आफैं ठग्ने ढाँट्ने अनि पत्रकार सम्मेलन गर्दै हिँड्ने ? जिल्लाबाट आएका खेलाडीले दुःख पाउँदा मैले चुप लागेर बस्नुपर्ने हो ?’

तपाईंले त हातपात गर्नुभयो रे, सांसदजस्तो गरिमामय पदमा आसिन व्यक्तिले हातपात गर्नु सही हो र ? भन्ने प्रश्नमा उनले भने, ‘ठगलाई नपिटेर पूजा गर्नुपर्ने हो ? एन्फाबाट आएको पैसा खाएर खेलाडीलाई दुःख दिनेलाई किन सम्मान गर्ने ? अनि मैले धेरै पत्रकार साथीहरूलाई भनेको छु, मैले हातपात गरेको होइन कुटेको हुँ ।’ ‘यस्ता ठगहरूलाई तपाईंले नि कुट्नुस् । ४ गते खेल हुन्छ भनेर बोलाउने अनि फेरि खेल ७ गतेलाई सार्ने, अनि टाइसिटमा पनि फिक्सिङ गर्ने,’ उनले भने, ‘खेलाडीलाई लजिङ, फुडिङको व्यवस्था नगर्ने, खेल मैदान उपलब्ध नगराउने अनि ठूलोठूलो कुरा गरेर हुन्छ ? म नभएको भए त मेरा बच्चाहरूको बिचल्ली हुन्थ्यो । धन्न म पोखरामा नै थिएँ । अझै ठूलोठूलो कुरा गर्छ उसले, अनि कसरी सहने ?’

सांसद मनाङले थपे, ‘त्यस्तालाई कुटेर नै ठीक पार्ने हो । यसले मुख्य मन्त्रीको समेत बेइज्जत गरेको छ । मलाई कुटेकोमा कुनै पछुतो छैन । तपाईंहरूलाई कुटेर बेठीक गर्यो भन्ने लाग्छ भने त्यो तपाईंहरूको समस्या हो ।’ कार्यक्रममा सांसद मनाङसँगै एन्फा मनाङका अध्यक्ष र एन्फा मनाङका अध्यक्ष निरज गुरुङको पनि उपस्थिति थियो । अध्यक्ष निरज गुरुङले पनि अध्यक्ष मिलनले गल्ती गरेको बताए । सांसद मनाङेले राखेको प्रेसमिटमा अध्यक्ष मिलनको चेक बाउन्सको फोटोकपीसमेत देखाइएको थियो । ‘बाउन्स चेक देखाउँदै सांसद मनाङले भने, ‘त्यो ठग रहेछ, त्यसका यस्ता ठगीका ५० मुद्दा रहेछन् ।’

Featured