देश

सभामुखमा सापकोटा निर्विरोध, सन्तुलन कायम गर्ने चुनौती

काठमाडौं, माघ ८–अरु कसैको पनि उम्मेदवारी नपरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध भएका छन्। सभामुख निर्वाचनका लागि सार्वजनिक निर्वाचन कार्यतालिकाअनुसार सापकोटाले मंगलबार बिहान ११ बजेर ५० मिनेटमा उम्मेदवारी दर्ता गराएका थिए। उनको साथमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङसहितका नेता पनि थिए।

नेम्बाङ सापकोटाको प्रस्तावक बसेका छन् भने समर्थकमा नेकपाकै प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेत्री ओनसरी घर्तीका साथै राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मणलाल कर्ण छ। तोकिएको समय २ बजेसम्ममा अरु कसैको पनि उम्मेदवारी नपरेपछि सापकोटा निर्विरोध निर्वाचित हुने भएका हुन्। प्रतिनिधिसभाको माघ १२ गते बस्ने बैठकले सभामुख निर्वा्चित गर्ने कार्यक्रम छ। सभामुखको निर्वाचनका लागि माघ १२ गते ३ बजे बैठक बोलाइएको छ।

एउटामात्र उम्मेदवारी परेकाले प्रतिनिधिसभा नियमावलीबमोजिम १२ गतेको बैठकमा प्रस्तावक र समर्थकले बोलिसकेपछि सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले प्रस्तावित व्यक्ति निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन्। तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट सभामुख निर्वाचित हुने व्यवस्था भए पनि एकमात्र उम्मेदवारी परेका कारण अब संसद्मा बहुमत देखाइरहनुनपर्ने संसद् सचिवालयका एक अधिकारीले जानकारी दिए।

कांग्रेस संसदीय दल कार्यसमितिको मंगलबार बिहान बसेको बैठकले सभामुखमा पार्टीले उम्मेदवारी नदिने निर्णय गरेको थियो। ‘सभामुखमा सत्तापक्षले आफ्नो उम्मेद्वार तय गरेकाले तथा सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने पद भएको कुरालाई ध्यानमा राख्दै पार्टी सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्छ,’ कांग्रेसकी सचेतक पुष्पा भुसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

चुनौतीका चाङ
सापकोटाले नेपालको आठौं सभामुखका रुपमा जिम्मेवारी सम्हाल्नेछन्। तर उनका लागि संसद्को बैठक सन्तुलित ढंगले सञ्चालन गर्नु निकै चुनौतीपूर्ण छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया टुंगो लाग्न बाँकी रहँदा आन्तरिक सन्तुलन मिलाएर संसद् बैठक सञ्चालन गर्नु उनका लागि चुनौतीपूर्ण छ। त्यसका साथै प्रमुख प्रतिपक्षी कांग्रेसलाई पनि विश्वासमा लिएर अघि बढ्नु उनका लागि अझ कठिन छ। नागरिक दैनिकबाट

Featured