विदेश

ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइः रिपब्लिकन र डेमोक्रेटबीच चर्को बहस

एजेन्सी, माघ ८–अमेरिकाको माथिल्लो सदन सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु भएको छ । सुनुवाईका क्रममा रिपब्लिकन र डेमोक्रेट सांसदहरुबीच अबको प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा चर्को बहस सुरु भएको छ । ट्रम्प र युक्रेनबीच सम्पर्क भएका थप प्रमाणको खोजी गर्ने विपक्षी डेमोक्रेटहरुको प्रयासलाई सत्तारुढ रिपब्लिकनहरूले विफल बनाएपछि थप दस्ताबेज मगाउने कि नमगाउने भन्ने विषयमा बहस सुरु भएको छ ।

सिनेटमा बहुमत रहेको रिपब्लिकन पार्टीका नेता मिच मक्कोनेल महाभियोग मुद्दाका प्रमुख साक्षी र दस्ताबेजलाई झिकाउन नहुने पक्षमा छन्। तर विपक्षी डेमोक्रेटहरू उनीहरुलाई झिकाएर बहस गराउनु पर्ने र त्यसो नगरिएमा ढाकछोप ठहरिने अडानमा छन् । ट्रम्पमाथि राष्ट्रपतीय अधिकार दुरुपयोग गर्दै युक्रेनलाई पूर्वउपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका प्रत्यासीका उम्मेदवार जोए बिडेन र उनका छोरामाथि अनुसन्धान गर्न दबाब दिएको र अमेरिकी कंग्रेसलाई आफ्नो काम कारबाहीमा अपरोध पु¥याएको आरोप छ ।

रिपब्लिकनहरूले ट्रम्प प्रशासन र युक्रेनबीचका सम्पर्क सम्बन्धी थप दस्ताबेजहरू ह्वाइट हाउसबाट मगाउनु पर्ने अडान राख्दै डेमोक्रेटहरुले ल्याएका दुई संशोधन प्रस्तावलाई विफल बनाइदिएका छन् । सिनेटको च्याम्बरमा ह्वाइट् हाउसको बजेट कार्यालयका दस्ताबेजहरूमाथि विचार गर्ने कि नगर्ने भन्ने विषयमा बहस भइरहेको छ । एकजना अभियोजनकर्ता जेसन क्रोले ट्रम्पले नियतवश ती दस्ताबेज रोकेको आरोप लगाएका छन् । उनले भने, ‘छानबिनका क्रममा बयान दिएका साक्षीहरूले महाभियोग छानबिनसँग सम्बन्धित थुप्रै दस्ताबेजहरू रहेको बताएका छन् । ती दस्ताबेजहरू छन् । तर राष्ट्रपतिले नदिनु भनेकाले ती रोकिएका छन् ।’

Featured