विदेश

रोग प्रतिरक्षा प्रणालीमा नयाँ खोज

एजेन्सी, माघ ७–वैज्ञानिकहरुले मानव शरीरको रोग प्रतिरक्षा प्रणालीको नयाँ पत्ता लागेको हिस्सा प्रयोग गरी क्यान्सर रोगको उपचार गर्न सकिने दाबी गरेका छन् । कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरूले प्रोस्टेट, स्तन, फोक्सो र अन्य सबै खाले क्यान्सरको उपचार गर्ने विधिको प्रयोगशालमा परीक्षण गरेका हुन् । क्यान्सरका बिरामीहरूमा यसको परीक्षण नगरिएपनि वैज्ञानिकहरूले यसले क्यान्सरको उपचारमा ठूलो सम्भावना थपेको बताएका छन् ।

नेचर इम्युनोलोजी नामक जर्नलमा प्रकाशित अध्ययनको नतिजाका आधारमा वैज्ञानिकहरूले यो सुरुवाती चरणमा भएपनि निकै उत्साहजनक देखिएको दाबी गरेका छन्। वैज्ञानिकहरू ट्युमरविरुद्ध प्रतिरक्षा प्रणालीको प्राकृतिक आक्रमण गराउन परम्परागत ढाँचाभन्दा फरक र यसअघि पत्ता नलागेका विधिको खोजी गरिरहेका थिए । उनीहरूले मानिसको रगतभित्र टी–सेल नामक कोष फेला पारेका हुन् । त्यो प्रतिरक्षा प्रणाली सक्रिय पार्ने कोष हो । जसले शरीरभित्र कुनै खतरा भएकोबारे थाहा पाउने गर्छ भने शरीरमा क्यान्सर फैलाउन सक्ने कोषहरूलाई समेत आक्रमण गर्छ ।

अनुसन्धानकर्ता प्राध्यापक एन्ड्रु सेवेलको भनाई उदृत गर्दै बीबीसीले लेखेको छ, ‘अब सबैखाले बिरामीलाई उपचार गर्न सकिने मौका हाम्रो सामु छ । यसअघि कसैले पनि यस्तो हुन सक्छ भनी सोचेका थिएनन् ।’ अनुसन्धानकर्ताहरूका अनुसार रगतमा हुने टी–सेल नामक कोष प्रयोग गरी विभिन्न प्रकारका क्यान्सरलाई आक्रमण गर्न सकिन्छ। उनीहरूका अनुसार टी–सेललाई एमआर १ भनिने शरीरमा प्रत्येक कोषको सतहमा रहने भागसँग अन्तरक्रिया गराएर क्यान्सर कोषमा रहेको विकारबारे थाहा पाउन सकिन्छ।

क्यान्सर भएको बिरामीबाट रगतको नमुना लिएपछि त्यसलाई आनुवंशिक रूपमा बदल्नु पर्छ र त्यसले क्यान्सर पत्ता लगाउँछ। त्यसपछि प्रयोगशालामा त्यस्ता कोषहरू धेरै परिमाणमा उत्पादन गरेर बिरामीको शरीरभित्र पठाउनु पर्छ। अहिलेसम्म त्यो अनुसन्धान जनावरहरूमा मात्र गरिएको छ। त्यसलाई मानवमा परीक्षण गर्नु अघिका सुरक्षा जाँच हुन बाँकी छ। अझै अध्ययन गर्न बाँकी भएपनि वैज्ञानिकहरूले यो नयाँ प्रयोगबाट सबैखाले क्यान्सर निको पार्न सकिने विश्वास व्यक्त गरेका छन्।

Featured