देश

जबर्जस्ती करणी मुद्दामा १२ वर्ष कैद

तनहुँ, पुस ६–जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई १२ वर्ष ६ महिना कैद फैसला गरेकोे छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुंगेलकोे इजलासले सो मुद्दामा पक्राउ परेका गोरखा पालुङटार नगरपालिका–५ का कृष्णकुमार विकलाई आइतबार सो कैद फैसला सुनाएको हो ।

गत १४ असारमा तनहुँको भानु नगरपालिका–३, तुरतेरस्थित पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा विकलाई कैद सजायसहित पीडितलाई १ लाख रूपैयाँ क्षतिपूर्ति दिलाउने फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए । पीडितलाई क्षतिपूर्तिबापतको जरिमाना अभियुक्तबाट नै भराउने अदालतको फैसला छ । अभियुक्तविरुद्ध गत साउन ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

यसैगरी, सवारी ज्यान मुद्दाका अभियुक्तलाई न्यायाधीश ढुंगेलको इजलासले ९ महिना कैदको फैसला गरेको छ । सवारी ज्यान मुद्दामा थुनामा रहेका व्यास नगरपालिका–११ का तुलबहादुर विकलाई सो कैदको फैसला गरेको हो । निजविरुद्ध गत जेठ २८ गते अदालतमा मुद्दा दायर भएको थियो । रासस

Featured