देश

पर्वतमा प्लास्टिकको चामल भेटिएको आशंका, बिक्रीवितरणमा रोक

पर्वत, माघ ६–पर्वतको कुश्मा नगरपालिका–५, मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ । लामिछानेको घरमा आज बिहान पकाएको भातको डल्ला क्रिकेट बलजस्तै उफ्रिएपछि लामिछाने परिवारले प्लास्टिकको चामल भएको आशंका गरेका हुन् । गणेश खाद्य उद्योग पुरानो पर्सा बजार चितवनले उत्पादन गरेको जिरा मसिनो चामलको भात बल जसरी उफ्रिएपछि स्थानीयवासी सशंकित बनेका छन् ।

लामिछानेले केही समय पहिले स्थानीय व्यापारी लेखनाथ शर्माको उमानन्द किराना स्टोर्सबाट चामल किनेर ल्याएको र पकाएर हेर्दा भात डल्ला परेको र प्लास्टिक जस्तो गरी उफ्रिन थालेको बताए । आज बिहान यस्तो समस्या देखेपछि उनले तत्कालै जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघलाई खबर गरेका थिए । खबरपश्चात् पुगेको टोलीले अनुगमन गरी चामललाई खाद्य तथा गुणस्तर विभागमा अनुसन्धानका लागि पठाउने तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले जानकारी दिए । शंकास्पद भेटिएपछि सो ब्राण्डको चामल कुश्मा बजारमा विक्रीका लागि रोकसमेत लगाइएको छ । रासस

Featured