देश

प्रदेश–५ का प्रमुख विपक्षी दलका नेता पोखरेलको निधन

बुटवल, माघ ६–प्रदेश–५ प्रदेशसभाका प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित ८२ वर्षीय पोखरेलको सोमबार दिउँसो रुपन्देहीको तिलोत्तमा–१४, खैरियास्थित आफ्नै निवासमा निधन भएको हो । पोखरेल नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेका हुन् । प्रदेशसभाकै ज्येष्ठ सदस्यसमेत रहेका पोखरेलको १९९४ साल माघ १९ गते प्युठानमा जन्मिएका हुन् ।

उनले २०१३ सालदेखि नेपाल छात्र संघबाट राजनीति सुरू गरेका थिए । उनी सो क्रममा २०१८ सालमा २ वर्ष नेपालगञ्जमा जेलसमेत बसे । २०२६ सालदेखि २०३६ सालसम्म कांग्रेस रुपन्देहीको सचिव बनेका पोखरेल कांग्रेस केन्द्रीय कार्यसमितिमा आमन्त्रित सदस्यसम्म भएका थिए । उनलाई गतवर्ष छातीको क्यान्सर देखिएपछि उपचाररत रहेका थिए । लामो समय नर्भिक अस्पताल काठमाडौं र पछिल्लो समय रुपन्देहीमा नै उपचार गराइए पनि पछिल्लो समयमा उनलाई घर लगिएको थियो ।

Featured