देश

जबर्जस्ती करणीको आरोपमा अहेवमाथि मुद्दा

नवलपुर, माघ ६–चालीस वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा बुलिङटार गाउँपालिका–४, अर्खला स्वास्थ्य चौकीमा कार्यरत अहेव टोकबहादुर सुस्लिङमाथि जिल्ला प्रहरी कार्यालय नवलपुरले मुद्दा चलाएको छ । प्राप्त उजुरीका आधारमा छैटौं तहमा कार्यरत अहेव सुस्लिङमाथि मुद्दा चलाइएको हो । अहेव सुस्लिङ फरार रहेकाले उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

घटना प्रहरीकहाँ पुगेको तीन दिनसम्म पनि आरोपित पक्राउ नपर्नु दुःखद भएको स्थानीयवासीले बताएका छन् । फरार आरोपीलाई प्रहरीले खोजतलास गर्न ढिला गर्न नहुने महिला अगुवा लीला भण्डारीले बताइन् । गाउँमा पहिले पनि यौनजन्य अपराध हुँदा स्थानीयस्तरमै बसेर मिलापत्र गर्न जनप्रतिनिधिले दबाब दिने गरेकाले आरोपितहरूको मनोबल बढ्ने गरेको स्थानीयवासीको भनाइ छ । रासस

Featured