देश

राजीनामा दिँदै उपसभामुखले भनिन्, ’धरातल नबिर्साैं’

काठमाडौं, माघ ६–प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभामा भावुक सम्बोधन गर्दै नेताहरूलाई धरातल नबिर्सन आग्रह गरेकी छन् । ‘अन्योलपूर्ण अवस्थामा उपसभामुख पद रिक्त गरेर यस गरिमामय सदनलाई नेतृत्वविहीन राख्नु उचित नहुने मान्यताका आधारमा सभामुख चयनको ठोस आधार सिर्जना भएपछि आफूले मार्गप्रशस्त गर्ने भनेर मैले सार्वजनिक रूपमा राखेको मान्यता सम्मानित सदनसमक्ष अभिलेखित गराउन चाहन्छु,’ तुम्बाहाम्फेले भनिन् ।

उनले सम्बोधनका क्रममा संविधानको मर्म, अक्षर र वचनबाट नभई अभ्यास र आचरणबाट मात्रै कार्यान्वयन हुन सक्छ भन्ने आफूलाई लागेको बताएकी छन् । ‘कसैले पनि आफ्ना जराहरू बिर्सन हुन्न । धरातल भुल्न हुन्न र स्वतन्त्रतालाई निरपेक्ष रूपमा बुझनु हुँदैन भन्ने कुरामा पनि म सचेत छु,’ उनले अगाडि भनिन्, ‘मेरा धारणाहरू कुनै अस्वाभाविक महत्त्वाकांक्षा या अनुचित आग्रहबाट प्रेरित थिएनन् भन्ने कुरामा म दृढ छु ।’

दलबाट सिफारिस या निर्वाचीत भएर प्राप्त हुने जिम्मेवारी भए तापनि संवैधानिक ओहोदामा बसुञ्जेल सम्बिन्धत व्यक्ति दलको सम्बन्धबाट अलग रहने बताउँदै उनले भनिन्, ‘ओहोदामा रहँदा ऊ दलको निर्देशनमा होइन, संविधान र कानुनको प्रबन्धअनुसार निर्देशित भएर क्रियाशील हुन्छ । मैले पनि यसैअनुसार नै इमानदारीका साथ कर्तव्य पूरा गर्ने प्रयास गरेकी छु । तर, कसैले पनि आफ्ना जराहरू बिर्सन हुन्न । धरातल भुल्न हुन्न ।’

Featured