देश

अझै पाएनन् उखु किसानले ५९ करोड १६ लाख ५४ हजार भुक्तानी

काठमाडौं, माघ ६–सरकारले चिनी उद्योगलाई उखु किसानको भुक्तानी गर्न दिएको समयसीमा सकिनै लाग्दा अधिकांश किसानले भुक्तानी पाउन सकेका छैनन् । गत १८ पुसमा सरकारले ७ माघभित्र उखु बिक्रीबापतको बाँकी बक्यौता रकम चिनी उद्योगबाट उपलब्ध गराइदिने गरी उखु किसानसँग सहमति गरेको थियो । तर, सो सहमतिको अक्षरशः कार्यान्वयन गराउने विषयमा भने सरकार सक्रिय भएर नलाग्दा कृषकले सो समयमा पुरै भुक्तानी नपाउने अवस्था आएको हो ।

भुक्तानीको माग गर्दै कृषक आन्दोलित भएका थिए तर सरकारले सहमति गरेपछि उनीहरूले आफ्नो आन्दोलन फिर्ता लिएका थिए । ७ माघभित्र उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गरिसक्ने भनेर सरकार र उखु किसानबीच पाँच बुँदे सहमति भएको थियो । सरकार र उखु किसानबीच भएको सहमति सकिन दुई दिन बाँकी हुँदासम्म चिनी उद्योगले उखु किसानलाई ५९ करोड १६ लाख ५४ हजार ७५२ रुपैयाँ भुक्तानी दिनुपर्नेछ । चिनी उद्योगीहरूले उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने सम्झौता भएको थियो । राजधानी दैनिकबाट

Featured