देश

दोस्रो किस्ता लिने लाभग्राही एक जना पनि भएनन्

नुवाकोट, माघ ५–आंशिक क्षति ब्यहोरेका लाभग्राहीलाई घरको प्रवलीकरण गर्न १ लाख अनुदान उपलब्ध गराउँदै आए पनि नुवाकोटका पीडितले लिन बेवास्ता गरेका छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइअन्तर्गत रहेको अनुदान व्यस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार १ हजार ५ सय ७४ प्रवलीकरण लाभग्राही रहेकोमा २२ प्रतिशतले अनुदान सम्झौता गरेको र तीमध्ये पहिलो किस्ताबापत अनुदान रकम लिने २० प्रतिशत मात्र छ ।

आयोजनाका प्रमुख शम्भुकुमार शाहका अनुसार जिल्लामा लाभग्राहीमध्ये ३ सय ६० घरधुरीले क्षति पुगेको घरको प्रवलीकरण गर्नका लागि अनुदान सम्झौता गरेका छन् । विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पका कारण घरमा आंशिक क्षति पुगेका धनीलाई पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा सूचिकृत भएकालाई क्षतिग्रस्त घर मर्मतका लागि दुई चरणमा १ लाख दिने कार्य्विधि भए पनि लाभग्राहीले यसतर्फ बेवास्ता गरेको उनले जानकारी दिए ।

सम्झौता गरेका सबैले स्वतः पहिलो किस्ताबापत ५० हजार पाउने भए पनि ३ सय २६ परिवारले मात्र रकम लिएको सरकारी तथ्यांक छ । उनका अनुसार पहिलो किस्ता रकम लिएकाले पनि घरको प्रवलीकरण गरेर दोस्रो किस्ताबापत थप ५० हजार लिन एक जनाले पनि निवेदन दिएका छैनन् ।(रासस)

Featured