देश

५३औं वर्षमा कृषि विकास बैंक

काठमाडौं, माघ ५–कृषि विकास बैंकले एक वर्षमा साढे ५ अर्ब रुपैयाँभन्दा बढी सहूलियतपूर्ण कृषि अनुदानमा लगानी गरेको छ । ‘कृषिलाई नछोड्ने, अरुलाई जोड्ने’ नीतिसहित अघि बढेको बैंकले गएको एक वर्षमा सहुलियतपूर्ण कृषि अनुदान कर्जामा ५ अर्ब ५८ करोड रुपैयाँ लगानी गरेको हो । स्थापनाको ५३औं वर्षमा प्रवेश गरेको अवसरमा अहिलेसम्मको प्रगति र आगामी योजनाबारे जानकारी दिन आइतबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्यायले यस्तो कर्जाबाट २५ सयभन्दा बढी सर्वसाधारण लाभान्वित भएको बताए ।

उनले कृषिक्षेत्रमा बैंकको लगानी ४४ प्रतिशत रहेको जानकारी पनि गराए । ‘आगामी दिनमा पनि कृषि क्षेत्रमा बैंकको लगानी बढाउँदै लैजाने योजना छ,’ उनले भने, ‘ग्रामीण तथा कृषि क्षेत्रको विकासका लागि सरल र सुलभ कृषि कर्जामा बैंक केन्द्रित छ,’ उनले भने । उपाध्यायले कृषि विकास बैंकको पाँच दशक लामो इतिहासलाई ग्रामीण क्षेत्र रुपान्तरणको प्रमुख यन्त्रका रूपमा हेर्न सकिने दाबी गरे ।

Featured