देश

बीएण्डसी सञ्चालक प्रसाईंलाई खोज्दै प्रहरी

काठमाडौं, माघ ५–भक्तपुर जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेको पाँच दिनसम्म पनि झापास्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । उनलाई बुधबार भक्तपुर जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहार अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

पाँच दिनसम्म पनि प्रहरीको सम्पर्कमा नआएका प्रसाईंको खोजी जारी कार्य भने जारी रहेको भक्तपुर प्रहरी परिसरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सविन प्रधानको भनाइ छ । ‘हाम्रो खोजी जारी नै छ, सम्पर्कमा आउनुभएको छैन । झापा प्रहरीसँग पनि समन्वय गरिरहेका छौं,’ एसपी प्रधानले भने ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले प्रसाईंविरुद्ध अभद्र व्यवहारको उजुरी भक्तपुर प्रहरी परिसरमा दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले उनीविरुद्ध जिल्ला प्रशासनबाट पक्राउ पुर्जी लिएको हो । प्रसाईले मेडिकल कलेजको सम्बन्धनका विषयमा गिरीले २० करोड घूस मागेको भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

Featured