देश

हिमपहिरोमा बेपत्ता भएकाहरूको उद्धारमा कठिनाइ

पोखरा, माघ ५–प्रतिकूल मौसमका कारण कास्कीको अन्नपूर्ण पदमाार्गको हिउँपहिरोमा बेपत्ता भएका कोरियालीसहित नेपालीहरूको खोजी कार्यमा कठिनाइ भएको छ । अन्नपूर्ण पदमार्गमा बिहीबार र शुक्रबार भएको हिउँपहिरोमा हराइरहेका चार कोरियाली र तीन जना नेपालीसहित सात जना अझै सम्पर्कविहिन छन् ।

हिमपहिरोमा परेर कोरियनसहित नेपालीहरू हराएको जानकारी पाएपछि शुक्रबारदेखि स्थानीय पर्यटन व्यवससायी सहितको टोली घटनास्थलतर्फ खोजीका लागि निस्किएको थियो । तर, हिउँ पर्ने क्रम शनिबार पनि नरोकिएपछि उद्धारमा समस्या भएको थियो । हिउँ पर्न नरोकिएपछि पर्यटनसँग सम्बद्ध पर्यटन व्यवसायीहरूको पहलमा अन्नपूर्ण बेसक्यामबाट करिब डेढ सय जनाको उद्धार गरी छोमरोङ र पोखरा ल्याइएको थियो । आइतबारसमेत मौसम झन् बिग्रिएपछि पोखरादेखि उद्धारका लागि बेसक्यामतर्फ गएको उद्धार टोली अप्ठेरोमा परेका छ । हिमपहिरोमा परेर हराइरहेका सात जनालाई हालसम्म पनि फेला पार्न नसकिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए ।

आइतबार प्रतिकूल मौसमसँगै लगातार हिमपहिरो खस्न थालेपछि उद्धारका लागि पोखराबाट गएको टोली नै समस्यामा परेको उनले बताए । पोखराका विभिन्न हेलिकोप्टर कम्पनी, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघलगायतको पहलमा त्यस क्षेत्रमा पुगेको उद्धार टोली नै हिमपहिरोको जोखिममा परेपछि टोलीलाई पोखरा फर्काउन लागिएको छ ।

कास्कीको अन्नपूर्ण पदमार्गमा पर्ने देउरालीलगायतका ठाउँमा अत्यधिक हिमपहिरोले गर्दा उद्धार कार्यमा थप कठिनाइ भएको प्रजिअ केसीले बताए । सम्पर्कविहिन हुने कोरियन पर्यटकहरूमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेको टान पोखराका सचिव जीवनराम सापकोटाले बताए । कोरियनहरू काठमाडौंको ट्रिप नेपाल माउन्टेन गाइड नामक कम्पनीबाट टिम्स शुल्क काटेर अन्नपूर्ण बेसक्याम्पतर्फ गएका थिए ।

त्यसैगरी, नेपालीहरूमा मीनबहादुर लामा (तामाङ), छिरिङ भोटे र नेपाली गाइड सरोज परियार हालसम्म सम्पर्क्विहीन भएको सचिव सापकोटाले बताए । शनिबार नेपालसहित ७ देशका ६४ जनालाई अन्नपूर्ण पदमार्गबाट हेलिकोप्टरमार्फत पोखरामा ल्याइएको थियो । कोरियन २७, चाइनिज १६, नेपाली १०, डेनमार्कका २, सिंगापुरका ५, अस्ट्रेलियाका १, भारतका २ र ट्युनिसियाका १ जनालाई पोखरा ल्याइएको हो ।

Featured