देश

श्रीमानको साख जोगाउन बिमलाको प्रदेशसभामा ‘इन्ट्री’

बुटवल, माघ ५–गत मंसिर १४ गते प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की बिमलाकुमारी खत्री (वली) विजयी भइन् । २४ माघ २०७५ मा दाङको घोराही–लमही सडक खण्डमा भएको सवारी दुर्घटनामा परी श्रीमानको मृत्यु भएपछि उपनिर्वाचनमा उम्मेदवार बनेर विजयी भएकी बिमलाले प्रदेशसभामा पहिलो अनुभव गरेकी छिन् ।

आइतबार बसेको संसदको पाँचौं अधिवेशन एवं हिउँदे अधिवेशनमा कालो कोट, कालो ब्याग अनि हरियो साडीमा प्रदेशसभामा प्रवेश गरेकी वली बैठक चलुन्जेल चनाखो बनेर सुनिरहिन् । प्रदेशसभामा जनमोर्चाकी सांसद तारा जिसी, समाजदवादी फोरमका सांसद सन्तोषकुमार पाण्डेय, नेपाली कांग्रेसका सांसदहरू फकरूद्दिन खाँ, निर्मला क्षत्री, नेकपा सांसद दिपेश थारू र भूमिश्वर ढकाल रोस्ट्रममा उभिएर बोल्दा चनाखो बनेर कुराहरू चाखपूर्ण रूपले सुनिरहेकी थिइन् ।

सभामा बोल्ने सबैले उनलाई बधाई दिइरहँदा उनी भने मुस्कुराउँथिन् मात्र । पहिलो बैठकमा रोस्ट्रममा नपुगे पनि प्रदेशसभामा प्रवेश गर्दा नै नौलो अनुभूति भएको उनले सञ्चारकर्मीलाई बताइन् । उनले श्रीमानले गर्न नभ्याएका अधुरा कामहरूलाई प्रदेशसभामा आवाज उठाएको बताइन् ।

Featured