देश

सोमबारदेखि जनकपुरमा रात्रीकालीन उडान

जनकपुर, माघ ५–जनकपुर विमानस्थलबाट माघ ६ गते (सामेबार)देखि रात्रीकालीन उडान हुने भएको छ । सम्पूर्ण तयारी पूरा भएपछि पहिलो र दोस्रो चरणको परीक्षण उडान पनि सफल भइसकेको । ६ गतदेखि नियमित रात्रीकालीन उडान हुने जनकपुर विमानस्थलले जनाएको छ । प्रत्येक राति बुद्ध एयरले उडान भर्ने विमानस्थलका प्रमुख विजय सिंहले बताए । सिंहका अनुसार रात्रीकालीन उड़ानका लागि विभिन्न चरणमा परीक्षण प्रक्रिया सम्पन्न भइसकेको छ । जनकपुर विमानस्थलमा बुद्ध एयरको विमान जेठ महिनामा पहिलो पटक परीक्षणका लागि अवतरण गरेको थियो । त्यसयता दोस्रो परीक्षण यसैसाता गरिएको थियो ।

रात्रीकालीन सेवा सुरु गर्न आवश्यक ‘रनवे लाइट’ र ‘आइएफआर’ जडान भएर जाँचसमेत भइसकेको छ । अन्य प्राविधिक कार्य पनि सम्पर्क भएकाले विमान सञ्चालनको तयारी गरिएको विमानस्थल प्रमुख सिंहले बताए । विमान सञ्चालनका लागि बाधक बनेका रुख पनि कटान गरसकिएको छ । विमानस्थल वरिपरि अग्ला देखिने झण्डै चार सय रुख काटिएको छ । रात्रीकालीन सेवा सुरु भएपछि सानोतिनो कामका लागि लामो समय अल्झिनुपर्ने समस्याबाट मुक्ति पाइने जनकपुरका व्यवसायी बताउँछन् ।

हाल बुद्ध एयर, यति र श्री एयरलाइन्सले दैनिक दुई उडान भरिरहेका छन् । रात्रीकालीन सेवा सुरु भएसँगै बुद्ध एयरले दैनिक तीनवाट उडान भर्नेछ । माघ ६ गतेदेखि साढे ५ बजे बुद्ध एयर जनकपुरधाम आउने छ भने साँझ ६ बजे काठमाडौंका लागि प्रस्थान गर्नेछ । जनकपुर–काठमाडौं विभिन्न एयरलाइन्सले एक हजार सातसयदेखि तीन हजार रपैयाँसम्म भाडा लिने गरेका छन् । भाडादर घटेसँगै विमानबाट हवाइ यात्रुको संख्या पनि बढेको छ । २०२४ सालदेखि सञ्चालमा आएको जनकपुर विमानस्थलमा वर्षोंदेखि निर्माणधीन नयाँ टर्मिनल भवन भने सुरु हुन सकेको छैन ।

Featured