विदेश

आयातोल्लाह भन्छन्, ‘ट्रम्प जोकर’, ट्रम भन्छन्, शब्द चयनमा ‘सचेत’ बन

काठमाडौं, माघ ४–अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईलाई ‘आफ्ना शब्दप्रति सचेत रहन’ चेतावनी दिएका छन् । तेहरानमा शुक्रवार एउटा सार्वजनिक प्रवचनका क्रममा खामेनेईले संयुक्त राज्य अमेरिकाको आलोचना गरेपछि ट्रम्पको प्रतिक्रिया आएको हो । हजारौँ मानिसलाई सम्बोधन गर्दै खामेनेईले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘जोकर’ को संज्ञा दिए भने इराकस्थित अमेरिकी सैन्य आधारशिविरमाथि इरानले हालै क्षेप्यास्त्र प्रहार गरेकोमा प्रशंसा गरे ।

शुक्रवार ट्वीट गर्दै ट्रम्पले ‘सर्वोच्च नेता भनिए पनि खामेनेई सर्वोच्च नरहेको’ र इरानको अर्थतन्त्र धरमराइरहेको तथा त्यहाँका जनताले दुःख झेल्नु परेको दाबी गरे । दुई हप्ताअघि अमेरिकाले आक्रमण गरी इरानका वरिष्ठ सैनिक जेनरल कासिम सुलेमानीलाई मारिदिएपछि वाशिंटनन र तेहरान बीचको तिक्तता झन् बढेको छ ।

खामेनेईले के भनेका थिए ?
असी वर्षीय खामेनेईले राजधानी तेहरानस्थित मोसल्ला मस्जिदबाट शुक्रवार देशलाई सम्बोधन गरेका थिए । उनले पछिल्लो पटक सन् २०१२ मा देशमा इस्लामिक क्रान्ति भएको ३३ औँ वर्षगाँठ मनाउने सन्दर्भमा यसैगरी सम्बोधन गरेका थिए । राजधानीमा शुक्रवारका प्रार्थनाहरूको नेतृत्व गर्नुको सांकेतिक रूपमा ठूलो महत्त्व छ । वाशिंटन इन्स्टिट्युट फर नीअरइस्ट पोलिसीका मेहदी खलाजी भन्छन्, यो यस्तो समारोह हो जुन इरानको सर्वोच्च निकायले निकै महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने बेलाका लागि मात्रै आयोजना गर्छन् ।

विगतमा इरानी नेताहरूले यस्तो अवसरको जिम्मा वाक्पटुतामा निपुण आफूप्रति वफादार धर्मगुरुलाई दिने गर्थे । सेनाको बचाउ गर्नुका साथै खामेनेईले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ‘दुष्ट’ प्रशासनको आलोचना गरे । इरानी जनताप्रति समर्थन व्यक्त गर्दा वाशिंटनले ‘झूटो’ बोलेको आरोप लगाए र भने अमेरिकाले ‘तिनीहरूलाई विषालु छुरी धस्नेछ ।’ इराकमा गरिएका इरानी क्षेप्यास्त्र हमला अमेरिकाको अनुहारमा ‘थप्पड’ हो । इरानको विशेष सैन्य कुड्स फोर्स, जसलाई अमेरिकाले आतंकवादी संगठन भनेको छ । ‘मानवीय मूल्य–मान्यता भएको मानवतावादी सङ्गठन’ रहेको बताए । सुलेमानीको अन्तिम संस्कार र इरानी सेनाको प्रतिक्रियालाई ‘इतिहासको एउटा मोड’ भने । (बीबीसीबाट)

Featured