मनोरंजन विदेश

गायक उदितनारायण झालाई ज्यान मार्ने धम्की

मुम्बई, साउन १३- बलिउड तथा नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक उदितनारायण झालाई  ज्यान मार्ने धम्की आएको छ।

गायक झाले आफूलाई पटक पटक ज्यान मार्ने धम्की आएको भन्दै अम्बोली प्रहरी चाैकीमा दुई हप्ता अगाडि उजुरी दर्ता गरेका थिए। उजुरीमा उनले आफूलाई एक व्यक्तिले एक महिनादेखि निरन्तर रुपमा फोन गरेर ज्यान मार्ने धम्की दिएको उल्लेख गरेका छन्। उनले ती व्यक्तिले आफूसँग पैसा भने नमागेको बताएका छन्।

अम्बोली प्रहरी चौकीका सिनियर इन्स्पेक्टरले उदितको उजुरी दर्ता गरेर थप अनुसन्धानका लागि अपराध अनुसन्धान महाशाखालाई सुम्पेको बताएका छन्।

उजुरी दर्तासँगै प्रहरीले धम्की दिने व्यक्तिको खोजी सुरु गरेको छ। धम्की दिने व्यक्तिको नम्बर बिहारको रहेको छ। प्रहरीको एक टोली बिहार पुगेर घटनाको अनुसन्धानको तयारी गरिरहेको छ। उदितलाई फोन आउने सो नम्बर एक सेक्युरिटी गार्डको भएको प्रहरीले जनाएको छ। तीन महिना अगाडि बिहारमा ती गार्डले मोबाइल हराएको र सो मोबाइल ती व्यक्तिले भेटेको प्रहरीको भनाइ छ। मोबाइलमा उदितको नम्बर भएका कारण फोन गरेर धम्की दिएको प्रहरीले जनाएको छ।

अहिले प्रहरीले उदितको घर वरिपरि सुरक्षा पहरा दिइरहेको छ। प्रहरीले ती व्यक्तिले उदितलाई एक महिनामा तीन पटक एकै नम्बरबाट फोन गरेर धम्की दिएको बताएको छ। उदितलाई धम्की दिने ती व्यक्तिको नाम लक्ष्मण भएको बताएको छ। ती व्यक्तिले फोनमा उदितलाई  कतिबेला घरबाट निस्कन्छनर र  घरबाट निस्केर कहाँ कहाँ पुग्छन् भन्नेमा आफ्नो नजर रहेको भन्दै ज्यान मार्ने धम्की दिएका हुन्।

 

Featured