देश

महतोको परिवारसँग मुख्यमन्त्रीले भेटेः हत्यामा संलग्नलाई हदैसम्मको कारबाही गर्ने आश्वासन

जनकपुर, माघ ३–प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार बिहान दिलिप महतोको परिवारसँग भेटघाट गरेका छन् । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित दिलिपको घरमा उनका बुवा, आमासँग भेटघाट गरेका हुन् । भेटमा मुख्यमन्त्री राउतले पीडित परिवारलाई हत्यामा संलग्न व्यक्तिमाथि हदैसम्मको कारबाही गराउन प्रदेश सरकारका तर्फबाट कुनै कसर बाँकी नराख्ने आश्वासन दिए ।

‘समाज सुधारका लागि क्रियाशील युवकको मृत्युले हामी पनि दुःखी भएका छौं । तपाइँ विश्वस्त हुनुहोस् । हत्यारालाई हदैसम्म कारबाहीको लागि प्रदेश सरकारले आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्नेछ ।’ मुख्यमन्त्री राउतले दिलीपको तस्बीरमा पुष्प अर्पण गरेर श्रद्धाञ्जली दिएका थिए । पीडित परिवारलाई प्रदेश सरकारले पाँच लाख रुपैयाँ राहत दिने घोषणा गरिसकेको छ । गत शुक्रबार बालुवा, गिटी उत्खननको विरोध गर्दै आएका रामजीवन महतोका २४ वर्षीया छोरा दिलिप भनिने ओमप्रकाश महतोको रडले घोची टिपरले किचेर हत्या गरिएको थियो । हत्यालाई लिएर देशभरि विरोध भइरहेको छ । हत्यामा संलग्न भएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको औरही खोलामा सञ्चालनमा रहेको चुरियामाई बालुवा प्रशोधन केन्द्रका सञ्चालक २७ वर्षीय विपिनकुमार महतो, ट्रिपर चालक महोत्तरी, बर्दिवास नगरपालिका–९ का ३४ वर्षीय मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक बर्दिवास नगरपालिका–२ का २४ वर्षीय जितेन्द्रकुमार महतो र मिथिला नगरपालिका–२ का २७ वर्षीय रोशनकुमार यादव रहेका छन् ।

Featured