विदेश

सिरियामा बालबालिकाको अवस्था झनै दयनीयः राष्ट्रसंघ

एजेन्सी, माघ ३–सिरियामा लडाइ सुरु भएपछि त्यहाँका बालबालिकाको अवस्था झनै दयनीय बनेको छ । पछिल्ला नौ वर्षपछि त्यहाँका दशौं लाख बालबालिकाहरूको अवस्था झनै दयनीय बनेको राष्ट्रसंघको एक प्रतिवेदनमा उल्लेख गरिएको छ । सो प्रतिवेदनका अनुसार बालबालिकामाथि हुने अपराध घटेको छैनन् भने लाखौं बालबालिका विद्यालय जान पाइरहेका छैनन्।

उत्तरी प्रान्त इद्लिबमा चर्किएको भिडन्तमा करिब ४० जनाको मृत्यु भएको छ । सिरियाली बालबालिकाबारेको नयाँ राष्ट्रसंघीय अध्ययन प्रतिवेदन अनुसार त्यहाँका बालबालिकाहरूको अवस्था निकै दयनीय छ । त्यहाँ १२ वर्ष उमेरका कलिला बालकलाई समेत यातना दिइएको र बालिकाहरूको अपहरण र बलात्कार जारी रहेको प्रतिवेदनमा उल्लेख छ।

सिरियाका विभिन्न स्थानमा केटाकेटीहरूको हत्या हुने क्रम पनि नरोकिएको मानवअधिकार अनुसन्धानकर्ताहरूको भनाइ छ। नयाँ अध्ययन अनुसार २० लाख भन्दा बढी सिरियाली बालबालिकाहरू विद्यालय जानबाट बञ्चित भएका छन् । राष्ट्रसंघीय प्रतिवेदनमा मानिसहरूलाई शिक्षा र स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न र सिरिया पुगेका विदेशी लडाकुका छोराछोरीलाई स्वदेश फर्काउन आग्रह गरिएको छ ।

Featured