देश

चिताबाटै महिलाको शव प्रहरीले लियो नियन्त्रणमा

विराटनगर, माघ २–जलाउन लागेको अवस्थामा प्रहरीले विराटनगरस्थित सिंघिया खोलाको घाटबाट एक महिलाको शव बिहीबार नियन्त्रणमा लिएको छ । घाँटीमा शंकास्पद डाम देखिएपछि विराटनगर महानगरपालिका–८, बलुवाइकी २८ वर्षीया प्रेमदेवी साहको शव नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । प्रहरी उपरीक्षक अधिकारीले भने, ‘जलाउनका लागि घाटमा पुर्याएर चितासमेत बनाइसकेपछि घटना शंकास्पद रहेको जानकारी आएको थियो । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ ।’

दाजु राजु साहका अनुसार प्रेमदेवीको मृत्यु भएको भनेर आज माइती पक्षलाई खबर पुगेको थियो । खबर पाएपछि आएर बहिनीको घाँटीमा हेर्दा भर्खरकै डाम देखिएपछि घटना शंकास्पद लागेर प्रहरीलाई खबर गरिएको दाजु साहले बताए । शव नियन्त्रणमा लिन वडा प्रहरी कार्यालय हाटखोलाबाट प्रहरी नायव निरीक्षक मनोज अधिकारी र जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक रामबहादुर ढकाल नेतृत्वको अलग–अलग टोली घाट पुगेको थियो ।

एसपी अधिकारीले घटनास्थल मुचुल्का तयार पारेर शव नियन्त्रणमा लिएपछि पोस्टमार्टमका लागि लगिएको बताए । प्रहरीले प्रेमदेवीका श्रीमान् गोविन्द साहलाई पनि नियन्त्रणमा लिएको छ । गोविन्दसँग उनको १२ वर्षअघि मागी विवाह भएको हो । उनीहरूका १० र ८ वर्षका दुई छोरा छन् । गोविन्दले भने श्रीमतीमा केही समयदेखि मानसिक बिरामी रहेको र त्यही बिरामीका कारण मृत्यु भएको बताएका छन् ।

Featured