देश राजनीति

मोरङका सत्र तह र छ निर्वाचन क्षेत्रमा कांग्रेसको नेतृत्व समायोजन

विराटनगर, माघ २–निर्वाचन क्षेत्र र स्थानीय तहमा मोरङ कांग्रेसको नेतृत्व समायोजन भएको छ । कांग्रेस केन्द्रीय कार्यालयको परिपत्रअनुसार समायोजन कार्य गत २ पुसमा सुरु भएको थियो । पार्टीका जिल्ला सचिव मोदराज घिमिरेले संविधानसभा निर्वाचनताका रहेका नौलाई छवटा क्षेत्रमा र सबै १७ स्थानीय तहमा नेतृत्व समायोजन भएको जानकारी दिए । उनले छवटा संघीय निर्वाचन क्षेत्र, १२ वटा प्रदेश निर्वाचन क्षेत्र र १७ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन भएको बताए ।

संघीय निर्वाचन क्षेत्रको सभापतिमा निर्वाचन क्षेत्र १ मा खड्ग फागो, २ मा नागेश्वरप्रसाद सिंह, ३ मा गणेश खड्का, ४ मा विनोद बस्नेत, ५ मा दिलीप पोखरेल र ६ मा निरञ्जन रिजाल चयन भएका छन् । यसैगरी, सत्र स्थानीय तहमा सभापति र सह–सभापति चयन गरिएको पार्टी सचिव घिमिरेले जानकारी दिए । स्थानीय तहअन्तर्गत १७ जना सभापति चयन भएका छन् भने कतिपय तहमा पाँच जनासम्म सह–सभापति छानिएका छन् । देश संघीय शासनमा गए पनि कांग्रेसको पार्टीगत संरचना भने पुरानै संरचनाअनुसार थियो ।

समायोजन भएअनुसार विराटनगर महानगरपालिकाको सभापतिमा भीम पराजुली, सुन्दरहरैंचा नगरपालिकामा कृष्णबहादुर लिम्बू, बेलवारी नगरपालिकामा शम्भु भट्टराई, पथरी शनिश्चरे नगरपालिकामा टेकबहादुर थापा, रंगेली नगरपालिकामा जगन्नाथ मण्डल, उर्लाबारी नगरपालिकामा वीरबल थापा, लेटाङ नगरपालिकामा राजकुमार लामा, रतुवामाई नगरपालिकामा जीवन पनेरु, सुनवर्षी नगरपालिकामा कमलकिशोर सिंह, कटहरी गाउँपालिकामा रामकुमार कामत, धनपालथान गाउँपालिकामा मनिकचन्द मण्डल, जहदा गाउँपालिकामा महेन्द्र मण्डल, कानेपोखरी गाउँपालिकामा योगेन्द्र दाहाल, ग्रामथान गाउँपालिकामा तुलसी विश्वास, केराबारी गाउँपालिकामा प्रकाश बस्नेत, बुढीगंगा गाउँपालिकामा विष्णु बहादुर पौडेल र मिक्लाजुङ गाउँपालिकामा शोमन्त दाहाल सभापतिमा चयन भएका छन् ।

कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बूले समायोजनपछि पार्टीको जीवन थप चलायमान हुने बताए । पार्टी समायोजनका कार्यक्रम जिल्लाभर चलिरहँदा विराटनगर महानगरको भेलामा पूर्वसभामुख तथा केन्द्रीय सदस्य तारानाथ रानाभाट, सुनवर्षी र रतुवामाईमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र ग्रामथानमा केन्द्रीय सदस्य महेश आचार्य सहभागी थिए ।

Featured