देश

कर्णाली प्रदेश परिषद्को बैठक १० माघमा बस्दै

सुर्खेत, माघ २–कर्णाली प्रदेशको विकास र समृद्धिका लागि राजधानी सुर्खेतमा पहिलो पटक ‘कर्णाली प्रदेश विकास परिषद्’को बैठक बस्ने भएको छ । कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश २०७५ दफा ७ को प्रावधानअनुसार ‘कर्णाली प्रदेश विकास परिषद्’को पहिलो बैठक १० माघमा बस्न लागेको हो । ‘कर्णाली प्रदेश विकास परिषद्’को बैठकले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि प्रथम अद्यावधि योजना र पञ्चवर्षीय कर्णालीको विकास योजनाका विषयमा छलफल हुनेछ ।

‘कर्णाली प्रदेश विकास परिषद्’को बैठकमा काठमाडौंमा ‘कर्णाली विज्ञ समूह’मा गरिएको छलफल, विकासका लागि विभिन्न समयमा विज्ञहरूसँग गरिएको आधारपत्रका विषय समेटिने कर्णाली योजना आयोगका प्रवक्ता भीमनारायण खनालले बताए । ‘कर्णालीको विकास विषयमा भएका विभिन्न छलफल तथा आधारपत्रहरूलाई परिषद्को बैठकमा राखिनेछ,’ उनले भने, ‘बैठकमा सामूहिक छलफलबाट उठेका विषयवस्तुलाई त्यसैमा समेटिनेछ ।’

कर्णाली प्रदेश योजना आयोगले गर्न लागेको बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, परिषद्का सहअध्यक्ष एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, विभागीय मन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता, प्रदेशसभा समितिका अध्यक्ष, प्रदेश योजना आयोगका सदस्य, जिल्ला समन्वय समिति तथा नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्ष, प्रदेश सरकारबाट मनोनीत ५ सदस्य, प्रदेश सरकारका सचिव गरी करिब १ सय २० जनाको सहभागिता रहने कर्णाली योजना आयोगका प्रवक्ता खनालले बताए ।

Featured