देश

पुसमा २८ लाख घुस रकमसहित ३४ जना अख्तियारको फन्दामा

काठमाडौं, माघ २–एकै महिनामा करिब २८ लाख घुस रकमसहित ३४ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । पुसका २५ कार्यदल २७ लाख ९२ हजार रकमसहित ३४ जनालाई अख्तियारले रंगेहात नियन्त्रणमा लिएको हो । घुस रकमसहित पक्राउ पर्नेमा १८ जना सरकारी कर्मचारी, ७ जना पुलिस, ४ जना सर्वसाधारण, ३ जना लेखनदास र २ जना वन समितिका पदाधिकारी छन् । सूचना र उजुरीका आधारमा अख्तियारले दैनिकजसो रंगेहात सरकारी कर्मचारीलाई पक्राउ गरे पनि घुस लिनेरदिने प्रवृत्ति भने बढ्दै गएको छ ।

पुसको घुसखोरीमा संलग्न संख्या मंसिरको भन्दा धेरै हो । रकम भने कम हो । मंसिरका २५ कार्यदिनमा २२ जना पक्राउ परेका थिए, जसमा एक जना जनप्रतिनिधि, एक जना सेवाग्राही र २० जना सरकारी कर्मचारी थिए । उनीहरुबाट अख्तियारले ३२ लाख ९९ हजार रुपैयाँ घुस रकम बरामद गरेको थियो । कात्तिको भन्दा मंसिरको घुसखोरी निकै धेरै छ । कात्तिकमा घुसखोरीमा संलग्न १५ जना समातिएका थिए । उनीहरूका साथबाट अख्तियारले २ लाख ८८ हजार रूपैयाँ बरामद गरेको थियो ।

असोजमा घुसखोरीमा संलग्न १७ जनालाई अख्तियारले ७ लाख ५१ हजार रकमसहित नियन्त्रणमा लिएको थियो । त्यस्तै आर्थिक अनियमितता एवं घुस लिइरहेका बेला भदौमा १३ लाख ७ हजार ६०० रुपैयाँसहित ३४ जना र साउनमा १ करोड ९५ लाख २६ हजार ९१ रुपैयाँसहित ५० जना अख्तियारको फन्दामा परेका छन् ।

Featured