देश

नेप्सेमा अन्तिम दिन पनि उछाल, २६ अंकको वृद्धि, १ अर्ब ६६ करोडको कारोबार

काठमाडौं, माघ २–सेयर बजार परिसूचक नेप्सेमा साताको अन्तिम दिन बिहीबार पनि उछाल आएको छ । नेप्सेमा सूचीकृत अन्यबाहेकका सबै समूह उकालो लागेपछि नेप्से परिसूचक १३१०.२३ अंकमा उक्लिएको हो । वित्त र उत्पादनमूलक समूह ४ प्रतिशतभन्दा धेरैले बढेका छन् भने व्यापार, होटल, लघुवित्त, जीवन बिमा र म्युचुअल फन्ड समूह ३ प्रतिशतभन्दा धेरैले उकालो लागेका छन् । बैंक समूह १.६९ प्रतिशतले बढ्यो । बिहीबार १८१ कम्पनीको ५० लाख २५ हजार ५६३ कित्ता सेयर १ अर्ब ६९ करोड ९९ लाख रूपैयाँमा किनबेच भएको छ । यो रकम बुधबारको कारोबारको तुलनामा करिब ७० करोड धेरै हो । बुधबार ९० करोड ४८ रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

पाँच कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नबिल प्रगति फन्ड, मल्टी पर्पोज फाइनान्स, आसिएफसी फाइनान्स, ग्लोबल आइएमइ लघुवित्त र तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको हो । अन्य ९ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । बजार उकालो लाग्दा पनि १६ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज हिमालयन डिस्टिलरीको सर्वा्धिक १४ करोड ३८ लाख तथा शिवम सिमेन्टको १३ करोड ५९ लाख रूपैयाँबराबरको सेयर किनबेच भयो ।

साताभरमा ६ अर्ब ६२ करोडको कारोबार
साताभरमा नेप्से ९७.१२ अंकले उकालो लागेको छ । आइतबार १२१३.११ अंकबाट कारोबार खुलेको नेप्से बिहीबार १३१०.२३ अंकले उकालो लागेको हो । आइतबार ४२, सोमबार १५, बुधबार २० र बिहीबार २६ अंकले बजार बढेको छ भने मंगलबार ७ अंकले घटेको छ । त्यस्तै आइतबार १ अर्ब ३३ करोड ५७ लाख, सोमबार १ अर्ब ७० करोड, मंगलबार १ अर्ब २ करोड, बुधबार ९० करोड ४८ लाख र बिहीबार १ अर्ब ६९ करोड ९९ लाख रूपैयाँबराबरको सेयर किनबेच भएको छ ।

Featured