किन्सासा, साउन ११, रासस/एपी-साउदी अरेबियाले कंगोमा प्राणघातक इबोला रोग फैलिएको भन्दै कंगोबाट साउदी अरेबिया भ्रमणमा जानेहरुलाई प्रवेशाज्ञा (भिसा) दिन रोक लगाउने निर्णय गरेको छ।
विश्व स्वास्थ्य संगठनले इबोला फैलिएका मुलुकका नागरिकलाई अन्य मुलुकको यात्रामा अबरोध नगर्न सिफारिस गरेपनि साउदी अरेबियाले नयाँ व्यवस्था लागू गरेको हो।
कंगोका केही मुस्लिम समुदायले अर्को महिना साउदी अरेबियामा हज गर्ने योजना बनाएका थिए।
साउदी अरबस्थित कंगोको राजदूतावासलाई साउदी विदेश मन्त्रालयले एक पत्र पठाई धार्मिक तिर्थयात्री र अरुको सुरक्षाका कारण साउदी अरेबियाले कंगोली नागरिकलाई भिसा दिन बन्द गरेको उल्लेख छ।
विश्व स्वास्थ्य संगठनले यसै महिना इबोलाको संक्रमण तिब्र भएको जनाउँदै यसलाई अन्तर्राष्ट्रिय रुपको आपतकाल भनी घोषणा गरेको थियो।
कंगो र आसपासका मुलुकमा मात्र इबोलाबाट हालसम्म करिब एक हजार ७०० को ज्यान गइसकेको छ।
साउदी अरेबियाले पश्चिम अफ्रिकामा केही वर्षअघि इबोला फैलिँदा पनि यस्तै निर्णय गरेको थियो। त्यसबखत इबोलाबाट करिब ११ हजारको ज्यान गएको थियो।
साउदी सरकारको नयाँ निर्णयबाट कंगोली नागरिकका साथै अरु व्यक्तिलाई पनि असर पर्नेछ। कंगो सरकारले साउदी सरकारको निर्णयप्रति कुनै प्रतिक्रिया जनाएको छैन।
प्रतिक्रिया दिनुहोस