देश

गुल्मीको पहिरोमा परी मृत्युको हुनेहरुको शव आफन्तलाई जिम्मा लगाइयो

गुल्मी, साउन १०-अविरल बर्षा पछि आएको बाढी पाहिरो बाट गुल्मीमा धेरै जनधनको क्षति भएको छ। गुल्मीको सत्यवति गाउँपालिकामा बाढी पाहिरो बाट मृत्यु हुने १३ जनाको शव आफन्तले बुझेका छन्। बिहिवार मात्रै गुल्मीमा मृतक र बेपत्ता सहित १३ जनाको सव फेला परेको हो। प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सबै सवको पोष्ट मार्टम गरि आफन्तले बुझाइएको बताउनु भयो।

मंगलवार राती अबिरल वर्षासँगै आएको पहिरोमा परेर सत्यवति गाउँपालिका वडा नम्बर ३ र ४ को लिम्घा र ठूलोलुम्पेकमा डेढ बर्षीय बालक सञ्जु विक, तारा बिक, माया बिक, बवि विक, निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छलि विक, सिवानी विक, तिल कुमारी तरामु, छोरा दर्शन तरामु र दुर्गाबहादुर सिंजालीको मृत्यु भएको थियो।

उक्त पहिरोमा परि घाइते भएका ठुलोलुम्पेकका करिष्मा र धनी त्ररामुलाई दुई दिन पछि परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली सहितको टोलीले हेलिकप्टर मार्फत उपचारको लागि काठमाडौँ लगिएको छ।

घाइते दुबै जनाको काठमाडौं त्रिबि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। मृतका परिवारलाई तत्कालको लागि क्रियाखर्च वापत गाउँपालिकाले रु १० हजारका दरले उपलबध गराउने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो।

प्रमुख जिल्ला अधिकारीको भनाई अनुसार थप राहतको लागि केन्द्र सरकार र प्रदेश सरकारको समन्वयमा उपलब्ध गराइने भएको छ। पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टर मार्फत २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा ठुलोलुम्पेकमा राहत प्रदान गरेको पौडेलले बताउनु भयो।

पहिरोले गर्दा गुल्मीमा धेरै ठुलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि दुई स्थानका करिव ६ सय घरपरिवार सुरक्षित स्थानमा सारिएको छ। प्रभावित क्षेत्रमा ५ सय वढि साना ठूला पहिरो र ३ सय पशु चौपायाँ मरेको अनुमान गरिएको छ। प्रभावित क्षेत्रमा के कति क्षती भएको र बिस्थापित परिवारको नामावली संकलन सुरु गरिदैछ।