देश

तिलिचोभन्दा पनि अग्लो ठाउँमा भेटियो अर्को ताल

काठमाडौं, साउन १०-पर्यटन प्रवद्र्धन गर्न के गर्न सकिन्छ भनेर मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहित पदाधिकारी र कर्मचारीबीच छलफल चल्यो।

उनीहरुले गाउँपालिकाका विभिन्न ठाउँमा गुगल म्याप हेरे। गुगलमा लमजुङ कैलाश (लमजुङ हिमाल) बेसक्याप नजिकै एउटा कुण्ड देखे । गुगल म्यापमा तालको नाम ‘कजिन सारा लेक’ लेखिएको थियो।

घलेले गाउँका बुढापाकासँग सोधे।

गोठालाहरुले ताल छ भनेपनि उक्त ठाउँमा जाने जुक्ति निकाले । पाका उमेरका गोठाला जान नसकेपछि २२ वर्षे भेडी गोठाला भैर गुरुङलाई लिएर २९ जनाको टोली त्यो ठाउँतिर लाग्यो।

उनीहरु दुई दिनमा तालछेउ पुगे। त्रिकोण आकारमा रहेको ताल मनमोहक देखेपछि मनाङस्थित सशस्त्र प्रहरीको ३२ नम्बर गुल्म चोमेका इन्स्पेकटर बाबुराम लम्सालले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) बाट उचाइ नापे।

५ हजार २ मिटर उचाइमा ताल देखेपछि प्रष्ट भयो, संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल (४९१९ मिटर) भन्दा अग्लो स्थानमा रहेको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।