खेलकुद

२० बलमा अर्धशतक : ज्ञानेन्द्र विश्वका नवौं खेलाडी

काठमाडौं,साउन ०९। नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप कप्तान ज्ञानेन्द्र मल्लले सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा बुधबार मलेसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरे ।ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले चिपरिचित प्रतिद्वन्दी मलेसियालाई ७ विकेटले पराजित गर्दा ज्ञानेन्द्रले कीर्तिमानी प्रदर्शन गरे ।नियमित कप्तान पारस खड्का चोटका कारण मैदानबाहिर रहदा मलेसियाविरुद्ध कप्तानी गरेका ज्ञानेन्द्रले नेपालको लागि कीर्तिमानी अर्धशतक बनाएका थिए । जुन ज्ञानेन्द्रको टी-ट्वान्टी अन्तराष्ट्रियमा करियरकै उत्कृष्ट प्रदर्शन हो ।

मलेसियाविरुद्ध ज्ञानेन्द्रले २० बलमा ५१ रन जोड्दै अर्धशतक बनाउदा नेपालको जित सहज बनेको थियो । विस्फोटक ब्याटिङ गरेको मल्लले ५ चौका र ३ छक्का प्रहार गर्दा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर पुरा गरेका थिए ।

योसंगै ज्ञानेन्द्र नेपालबाट टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक बनाउने पहिलो खेलाडी बनेका थिए । यसअघि छिटो अर्धशतक विनोद भण्डारीको नाममा रहेको थियो । विनोदले गत साता मलेसियाविरुद्धको सिरिजमा २५ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका थिए ।

ज्ञानेन्द्र अन्तराष्ट्रिय टी-ट्वान्टीमा अर्धशतक बनाउने पाँचौं नेपाली खेलाडी समेत बनेका छन् । यसअघि पारस खड्काले दुई पटक, सुवास खकरेल, विनोद भण्डारी र सन्दीप जोराले अन्तराष्ट्रिय टी-ट्वान्टीमा समान १/१ पटक अर्धशतक बनाएका छन् ।

मलेसियासँगको अर्धशतकसँगै ज्ञानेन्द्र टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा २० बलमा अर्धशतक प्रहार गर्ने विश्वका नवौं खेलाडी समेत बने ।

हालसम्म विश्वका ९ खेलाडीले मात्र टी-ट्वान्टी अन्तराष्ट्रियमा २० बलमा अर्धशतक प्रहार गरेका छन् ।

यसअघि भारतका युवराज सिंहले दुई पटक २० बलमा अर्धशतक पुरा गरेका छन् ।

यस्तै बंगलादेशका मोहमद अश्रफुल, अष्ट्रेलियाका सेन वाट्सन, वेष्ट इण्डिजका केइरन पोलार्ड, क्रिस गेल, जोन्सन चार्ल्स, जिम्बाबेका म्याकलम वालर र हङकङका तानविर अफ्जलले २० बलमा अर्धशतक बनाएका छन् ।

टी-ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक बनाउने कीर्तिमान भने भारतका युवराज सिंहको नाममा रहेको छ । उनले सन् २००७ मा इंग्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका थिए । यस्तै वेष्ट इण्डिजका क्रिस गेलले पनि १२ बलमा अर्धशतक बनाएका छन् ।

Featured