देश

गर्भवतीलाई पर्याप्त पोषण दिन गाउँपालिकाको ‘पोसिलो नासो’ कार्यक्रम

सुर्खेत, पुस ५–कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाले गर्भवतीलाई लक्षित गर्दै ‘पोसिलो नासो’ कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले चार महिनासम्म नियमित स्वास्थ्य चौकीमा जाँच गरेका गर्भवतीहरुलाई ‘पोसिलो नासो’ कार्यक्रम अन्तर्गत अण्डा वितरण गरेको हो । गर्भवतीलाई ‘पोसिलो नासो’ को रुपमा अण्डा वितरण गर्ने गरिएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । ‘ अण्डामा प्रशस्त पोषक तत्व हुन्छ । कुपोषण र ख्याउटेपन हटाउन अण्डा वितरण गरिएको हो,’ उनले भने, ‘पोसिलो नासो स्वरुप अण्डा वितरण कार्यक्रम नियमित सञ्चालन गरिनेछ ।’

गर्भवती भएदेखि ९ महिनासम्मै अण्डा वितरण गरिने पनि उनले बताए । हरेक गर्भवतीले महिनामा ३० वटा अण्डा पाउनेछन् । गर्भावस्थामा नियमित अण्डा सेवनले बच्चा र आमा दुवैको स्वस्थ्यमा सकारात्मक प्रभाव पर्ने गाउँपालिकाको विश्वास छ । गर्भावस्थामा आवश्यक मात्रामा पोषक तत्व नपाउँदा बच्चालाई कुपोषण हुनुको साथै आमा पनि विभिन्न रोगबाट पीडित हुँदै आएका छन् । आमा र बच्चालाई स्वस्थ बनाउने उद्देश्यले ‘पोसिलो नासो’ कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष शाहीले बताए ।

Featured