खेलकुद

नेपालद्वारा मलेसियालाई ७ विकेटले पराजित, उपाधि होड कायमै

काठमाडौं, साउन ८-आईसीसी ट्वान्टी २० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरे संगै  नेपाल उपाधि होडमा कायम रहेको छ।

वर्षाका कारण ९ ओभरमा झारिएको खेलमा मलेसियाले पेश गरेको ८४ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ८ ओभरमै पूरा गरेको हो। नेपालको ओपनिङ ज्ञानेन्द्र मल्ल र प्रदीप ऐरीले संहालेका थिए।

यी दुईले पहिलो विकेटका लागि ६० रनको साझेदारी गरेपछि नेपालको सहज जित सम्भव भएको हो। यो ट्वान्टी२० मा नेपाली ब्याट्सम्यानले अहिलेसम्म गरेको सर्बाधिक साझेदारीको कीर्तिमान हो।

ज्ञानेन्द्रले २१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५१ रनको कीर्तिमानी पारी खेले। यो नेपाली ब्याट्सम्यानले ट्वान्टी२० क्रिकेटमा थोरै बलमा अर्धशतक बनाउने कीर्तिमान हो। यसअघि यो कीर्तिमान विनोद भण्डारीको नाममा थियो।

प्रदीपले १४ बलमा १२ रन बनाएर ज्ञानेन्द्रलाई राम्रो साथ दिए। विनोद भण्डारीले ८ बलमा १ छक्कासहित अविजित १३ रन बनाए। दीपेन्द्र ऐरीले २ रन बनाएर आउट भए  शरद भेषावकर ३ रनमा अविजित रहे। मलेसियाका मोहम्मद स्याहादातले ३ विकेट लिए।

यसअघि सिंगापुरको इन्डियन एसोसियसन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाएर ८३ रनको योगफल खडा गरेको थियो।

नेपाली फाष्ट बलर सोमपाल कामीले मलेसियाका दुवै ओपनरलाई पहिलो ओभरमै आउट गरेका थिए। पारीको पहिलो बलमै अनवर अरुद्धिनलाई अविनाश बोहोराको हातबाट क्याच आउट गराएका सोमपालले त्यो ओभरको अन्तिम बलमा अर्का ओभर अफिक सरिफलाई एलबीडब्ल्यू धरापमा पारे। दुवैले खाता खोल्न सकेनन्।

तेस्रो नम्बरमा आएका सयद अजिजले विष्फोटक ब्याटिङको प्रयास गरेका थिए। सोमपाललाई लगातार ३ चौक र सन्दीप लामिछानेको बलमा छक्का प्रहार गरेका उनी सन्दीपकै बलमा दीपेन्द्र ऐरीको हातबाट क्याच आउट भए। उनले १५ बलमा ५ चौका र १ छक्कासहित ३० रनको योगदान गरे।

त्यसअघि सोमपालले आफ्नो तेस्रो विकेट लिने क्रममा अमिनुद्धिन राम्लेलाई बोल्ड गरेका थिए। पाँचौं ओभरको पाँचौं बलमा करण केसीले मोहम्मद स्यादातलाई १ रनको व्यक्तिगत स्कोेरमा आउट गरे। ६ ओभरको खेल सकिँदा मलेसिया ५४–५ को स्थितिमा थियो।

आठौं ओभरमा अनुभवी स्पिनर बसन्त रेग्मीले २ विकेट झारे। ओभरको अन्तिम २ बलमा उनले क्रमसः विरनदीप सिंहलाई २१ र अहमद फाइजलाई ९ रनको स्कोरमा आउट गरेका हुन्।

Featured