देश

अब देखि युवाको उमेर १८ देखि ३५ वर्ष

काठमाडौँ, साउन ५। १८ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिलाई मात्र सरकारले अब देखि युवाको संज्ञा दिने प्रस्ताव गरेको छ। सरकारको राष्ट्रिय युवा परिषद् ऐन संशोधन विधेयकमा उक्त प्रस्ताव गरिएको छ। नयाँ व्यवस्था अनुसार युवाको अधिकतम उमेरमा ५ वर्ष घट्नेछ भने न्यूनतम उमेरमा २ वर्ष बढ्नेछ।

संविधान अनुसार १८ वर्ष पुगेपछि मताधिकार प्राप्त बालिग नागरिक हुने व्यवस्था गरिएको छ। १८ वर्षभन्दा कम उमेरलाई नाबालिग मानिन्छ। त्यसैले १८ वर्षलाई युवाको न्यूनतम उमेर कायम प्रस्ताव गरिएको हो। सरकारको राष्ट्रिय युवा परिषद् ऐन २०७२ मा १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई युवा मानिएको छ।

२०६८ को जनगणनाअनुसार १६ देखि ४० वर्षसम्मलाई युवा मान्दा मुलुकमा कुल जनसंख्याको ४०.३ प्रतिशत युवा छन्।

परिषद्ले तयार पारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको विधेयकमा युवाको उमेर हेरफेर गर्न प्रस्ताव गरिएको हो। विश्वका धेरैजसो मुलुकमा यही उमेर समूहलाई युवा मानिएको छ।