काठमाडौँ, साउन ५-नेपाल सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (पिपीआर) तयार पार्न कम्पनी छनोट प्रक्रियालाई अघि बढाएको छ।
मेट्रो रेल्वेको सम्भाव्यता अध्ययनबाट पहिलो चरणमा बुढानीलकण्ठदेखि सातदोबाटोसम्म २२ किलोमिटर लामो रेल्वे आर्थिक रुपमा फाइदाजनक हुने प्रतिवेदन आएपछि रेल विभागले डिपीआर तयार पार्न कम्पनी छनोट प्रक्रिया थालेको हो।
विभागले डिपीआर तयार पार्न इच्छुक कम्पनीहरु संग प्रस्ताव मागेको थियो। विभागका महानिर्देशक बलराम मिश्रका अनुसार उक्त परियोजनाका लागि २० कम्पनीले प्रस्ताव हालेका थिए।
प्रस्ताव मध्येबाट मेट्रो रेल्वे निर्माणमा बढी अनुभव भएका ६ कम्पनी छनोट गरी विभागले उनीहरुसित डिपीआर तयार पार्नका लागि प्राविधिक आर्थिक प्रस्ताव मागेको छ।
ती कम्पनीको प्रस्ताव अध्ययनपछि साउन महिनाभित्रै उपयुक्त कम्पनी छनोट गरी डिपीआर निर्माण गर्न जिम्मा दिइने जानकारी मिश्रले दिए। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस