NRNA खबर मनोरंजन

मिस इङ्ल्याण्डको फाइनलमा नेपाली चेली प्रतिष्ठा राउत, भोट गरि जिताउन सबैमा आह्वान

काठमाडौं– मिस इङ्ल्याण्डको फाइनलमा पुगेकी नेपाली चेली प्रतिष्ठा राउतलाई जिताउन बेलायतबासी नेपाली समुदाय कम्मर कसेर लागिपरेका छन्। उनको पक्षमा माहोल सिर्जना गर्ने उद्देश्यले शुक्रबार लन्डनको हयारोमा च्यारिटी डिनर आयोजना गरिएको छ।

सो च्यारिटीबाट करीब १० हजार पाउण्ड संकलन भएको च्यारिटीका संयोजक तथा गैरआवासीय नेपाली संघ (एनआरएन)का केन्द्रीय सदस्य रामशरण सिम्खडाले जानकारी दिए।

कार्यक्रममा उनले प्रतिष्ठा साँच्चै नै नेपाल र नेपालीको लागि ‘प्रतिष्ठा’ भएको उल्लेख गर्दै सहयोग गर्न आह्वान गरेका थिए। जसअनुसार एनआरएन मध्यपूर्व संयोजक आरसी शर्मा, एसिया प्यासिफिक रिजनल डेपुटी अर्डिनेटर बिमल कुँवर, क्षेत्री समाज युकेका पदाधिकारीसहित उपस्थित व्यक्तित्वहरुले प्रतिष्ठाको लागि सहयोगको घोषणा गरेका थिए।

मानसिक स्वास्थ्य सचेतना र त्यस समस्याबाट पीडित व्यक्तिको सहयोगका लागि प्रतिष्ठाले च्यारिटी जुटाइरहेकी छन्। प्रभावकारी च्यारिटी गर्न सके उनलाई ‘ब्युटी वीथ अ परपोज’ टाइटल पनि हात पर्नेछ।

कार्यक्रमा बोल्दै प्रतिष्ठाले मानसिक स्वास्थ्यलाई मानिसले सहज रुपमा लिइरहेको भएपनि त्यसको पीडा भोग्नेहरुलाई मात्रै थाहा हुने बताइन्। यसो भन्दै गर्दा भावुक बन्न पुगेकी उनले भनिन्, ‘मानसिक स्वास्थ्यलाई मानिसले सहज रुपमा लिइरहेका छन्। तर, यसको पीडा त्यसलाई मात्र थाहा हुन्छ जसले प्रत्यक्ष भोगेको छ।’

उनले आफू म यस प्रतियोगिताभर मात्र नभइ भविष्यमा पनि मानसिक स्वास्थ्यबाट पीडित व्यक्तिहरुको सहयोग र जनचेतना जगाउन लागि पर्ने बताइन्।

पुख्र्यौली घर नेपालको संखुवासभाको चैनपुर भएकी प्रतिष्ठा पेशाले फ्लोर प्लान आर्किटेक्ट हुन् भने अहिले बेलायत अल्डरसटमा परिवारसँग बस्दै आएकी छिन्।

२६ वर्षीया प्रतिष्ठा करिब २२ हजार आवेदकमध्येबाट छानिएर मिस इंग्याण्ड प्रतियोगिता–२०१९ को फाइनल पुगेकी हुन्।

अब ५४ प्रतिष्पर्धीबीच यही ३१ जुलाई र १ अगष्टमा न्यू क्यासल अपन टाइनमा फाइनल हुनेछ। ३१ जुलाइमा स्पोर्टस् डे र सौन्दर्यसम्बन्धि परीक्षा हुनेछ भने भोलिपल्ट ‘ग्राण्ड फिनाले’ हुने छ। सबै प्रतियोगी फाइनल क्याटवाकमा देखिनेछन् भने क्रमशः टप २० र टप ५ छानिने छन्।

प्रतिष्ठाले आफूलाई जिताउन ‘मिस इंग्ल्याण्ड ४२ टँइप गरेर ६३३३३ मा टेक्सट’ गरेर वा अनलाइन भोटमार्फत् सहयोग गर्न अपिल गरेकी छन्।

प्रतिष्ठा भूपु गोर्खा प्रकाश राउतकी छोरी हुन्। उनी १६ वर्षको उमेरदेखि नै मोडलिङमा लागेकी थिइन्।

Featured