राजनीति विदेश

कांग्रेसकी वरिष्ठ नेता शीला दीक्षितको ८१ वर्षको उमेरमा निधन

नयाँ दिल्ली, एजेन्सी, साउन ४-  १५ वर्षसम्म दिल्लीको मुख्यमन्त्री रहेकी भारतीय कांग्रेसकी वरिष्ठ नेता शीला दीक्षितको ८१ वर्षको उमेरमा शनिबार निधन भएको छ।

बिहान उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई एस्काट्र्स फोर्टिस अस्पतालमा भर्ती गरिएको थियो।

अस्पतालका निर्देशक डा. अशोक सेठले उनको उपचारको क्रममा दिउँसो ३ बजेर १५ मिनेट जाँदा दीक्षितलाई कार्डियाक अरेस्ट भएको थियो। त्यसपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।

शीला दीक्षितको जन्म ३१ मार्च १९३८ मा पञ्जाबको कपूरथलामा भएको थियो। उनी १५ वर्षसम्म दिल्लीको मुख्यमन्त्री रहेकी थिइन्। लोकसभा चुनावअघि पार्टीले उनलाई दिल्लीको अध्यक्षको जिम्मेवारी सुम्पेको थियो।

उनको अन्तिम संस्कार आइतबार निगम बोध घाटमा गरिने जानकारी दिइएको छ।

कांग्रेसकी वरिष्ठ नेता शीला दीक्षितको निधनमा केजरीवाल सरकारले दुई दिन दिल्लीमा राजकीय शोक मनाउने घोषणा गरेको छ।

सन् १९९८ मा तत्कालिन कांग्रेस अध्यक्ष सोनिया गान्धीले उनलाई तत्कालिन कांग्रेस दिल्लीको जिम्मेवारी दिएकी थिइन्। उनले चुनाव जितेर मुख्यमन्त्री बन्न सफल भइन्। उनले सन् २०१३ सम्म तीन कार्यकाल मुख्यमन्त्रीको पद सम्हालेकी थिइन्।

Featured