देश

प्रधानमन्त्री केपी ओलीको सपना पुरा हुदै: नारायणी नदीमा दशैंदेखि पानीजहाज चल्ने पक्का

साउन ०४ चितवन। प्रधानमन्त्री केपी शर्मा ओलीको पानि जहाजको सपना पुरा हुने भएको छ ।ओलीले पटक पटक भन्दै आएको पानीजहाज दशै अघि नारायणी नदिमा संचालन हुने पक्का भएको छ । आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै ३५ करोडको लगानीमा पानि जहाज निर्माण भैरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जानकारी दिएको छ।

भरतपुर महानगरपालिका वडा नम्वर १६ मा रहेको ज्ञानेश्वर सामुदायीक बनको काभ्रेघाट बगरमा क्रुज निर्माण भइरहेको छ । पानीबाहिर राखेर निर्माण गरिँदै आएको क्रुजको काम सकिएपछि पानीमा राखेर निर्माण सुरु गरिएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिए।

चैतबाट जहाज निर्माण थालेको कम्पनीले पानीमा राखेपछि आउँदो दशैँमा सञ्चालन गर्ने तयारी गरेको छ। तीन सय जना अटाउन सक्ने क्षमताको सानो आकारको ‘पानीजहाज’ निर्माणका लागि १५ फिट गहिरो पोखरी बनाइएको छ। बुटवलबाट ल्याइएका विशेष प्रकारका दुईवटा क्रेनले हिजो दिनभरि लगाएर जहाज पानीमा झारेका थिए।

भारतबाट आएका प्राविधिक र नेपाली गरी ५० जना निर्माणमा खटिएका छन्। बिहानको ब्रेकफाष्ट खाँदै नदीमा सयर गर्न चाहानेहरुले ब्रेकफाष्ट क्रुजको मज्जा लिनेछन् । अपरान्ह खाना नै क्रुजमा खाँदै रमाउन चाहानेका लागी लन्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज हुनेछ ।काभ्रेघाटदेखि सुरु यात्रा देबघाट पुगेर गोलाघाटसम्म लैजाने गरी संचालनको तयारी भएको कंडेलले बताए ।

नेपालले सन् २०२० पर्यटन बर्ष मनाउने तयारी गरिरहेका बेला रिभर क्रुज जहाजले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।