खेलकुद देश

१२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा नेपालका समिर श्रेष्ठ बिजय

काठमाडौं, साउन ४-कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको १२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा नेपालका समिर श्रेष्ठले शुक्रबार स्वर्ण जितेका छन्। भारतका दिनेश दोस्रो र नेपालकै प्रज्ज्वलमान शाक्य तेस्रो भए।

पुरुष ५५ केजीमा नेपालका किसनदास महर्जनले कांस्य हात पारे। मालदिभ्सका मोहम्मद मुसा पहिलो र भारतका मुरुगन रामामुर्ती दोस्रोे भए। पुरुष ६० केजीमा भारतका दिपु पहिलो भए। नेपालका कमल भण्डारी दोस्रो र अफगानिस्तानका मोहम्मद कसिम हुसैन तेस्रो भए ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ७० केजीमा अफगानिस्तानका अब्दुल समी पहिलो भए। नेपालका रमेश कार्कीले रजत र इमरान अली तेस्रो भए।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको प्रतियोगिताको महिला एथलेटिक फिजिक्समा नेपालले दुई पदक हासिल गर्‍यो। रजनी श्रेष्ठले रजत तथा सुजिता मानन्धरले कांस्य जिते। भारतकी निशा भोयर पहिलो स्थानमा रहिन्। पुरुष फिटनेस फिजिक्समा नेपालका राजु राईले रजत पदक प्राप्त गरे । अफगानिस्तानका हमिदुल्लाह खुशदिल पहिलो र सलिम शाह अन्वरी तेस्रो भए ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले पुरस्कार वितरण गरे।  दुई दिने प्रतियोगिता शनिबार सम्पन्न हुनेछ।

पहिलो दिन जम्मा ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले एक स्वर्ण, चार रजत र तीन कांस्य गरी जम्म आठ पदक जित्यो।

Featured