राजनीति

राष्ट्रियसभाबाट सार्वजनिक महत्वको प्रस्ताव पारित

साउन ३ काठमाडौं। राष्ट्रियसभाले बाढी–पहिरोपीडितको उद्धार, राहत वितरण तथा पुनःस्थापनका लागि तत्काल प्रभावकारीरुपमा काम गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।शुक्रबार बसेको राष्ट्रियसभा बैठकले सरकारको काम प्रभावकारी नभएको भन्दै प्रभावकारिता बढाउन पनि भनेको छ ।लगातारको पानी र बाढी–पहिरोमा परी ९० जनाको निधन भएको छ भने अझै २९ जना हराइरहेका छन् ।तीन हजार ३०० जनालाई उद्धार गरिएको र १३ हजार घरपरिवार विस्थापित भएको सरकारी आँकडा छ ।यही विषयमा विपक्षीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएपछि सत्तारुढ दलले पनि बिहीबार नै प्रस्ताव दर्ता गराएका थिए ।
प्रस्तावलाई राष्ट्रियसभाले साझा बनाउँदै सर्वसम्मतिबाट पारित गरेको हो ।नेकपाका खिमलाल देवकोटा, नेपाली कांग्रेसका बद्री पाण्डे, राजपाका वृषेशचन्द्र लालले सार्वजनिक महत्वको प्रस्तावमाथि धारणा राख्दै सरकारले विपद् व्यवस्थापनको पूर्वतयारीमा ध्यान नदिँदा धेरै क्षति भएको बताए ।
सत्तारुढ नेकपा तथा विपक्षी कांग्रेस र राजपाले यस सवालमा भने एउटै दस्तावेजमा सही गरेर प्राकृतिक विपद्पछिको अवस्थामा एक भएको सन्देश दिएका छन् ।कांग्रेस सांसद पाण्डेले विपद् व्यवस्थापनका लागि यसअघि बनाइएका ऐन–कानुन र संयन्त्रहरुको प्रयोग नगर्दा ठूलो क्षति व्यहोर्नुपरेको भन्दै ‘दुईतिहाइको सरकारलाई ऐन–कानुनअनुसार काम गर्न केको आपत्ति ?’ भने ।राजपा सांसद लालले भने पीडितहरुको पुनःस्थापना अहिलेको मुख्य विषय भएको भन्दै त्यसतर्फ सरकारले ध्यान दिन नसकेको बताए ।
सांसदहरुका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले सरकार उद्धार र राहतमा लागेको बताए ।

Featured