खेलकुद

आईसीसीद्वारा जिम्बावे क्रिकेट बोर्ड निलम्बन

काठमाडौँ, साउन ३-जिम्बावे क्रिकेट बोर्डलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले निलम्बन गरेको छ। आईसीसीले जिम्बावे क्रिकेटमा राजनैतिक हस्तक्षप भएको जनाउँदै निलम्बन गर्ने निर्णय गरेको हो।

‘खेललाई राजनीतिमा मुछेका कारण हामी यो निर्णयमा पुगेका हौं,’ आईसीसीका अध्यक्ष शशांक मनोहरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘आईसीसीको विधानसँग बाझिने गतिविध जिम्बावेमा भएको थियो, जसलाई हामी नजरन्दाज गर्न सक्दैनौं।’

आईसीसीको लण्डनमा भएको बोर्ड बैठकले जिम्बावेको क्रिकेटलाई निलम्बन गर्नुका साथै जिम्बावेलाई प्रदान गर्दै आएको सबै अनुदानहरु पनि रोकेको छ भने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पनि बन्देज लगाएको छ।

यसअघि जिम्बावेको खेलकुद तथा मनोरञ्जन आयोगले त्यहाँको बोर्ड निलम्बन गर्दै तदर्थ समिति बनाएको थियो। बोर्डको प्रशासनमा अनियमितता तथा भ्रष्टाचार ब्यापक भएको कारण सरकारले यस्तो निर्णय गरेको थियो। तर, त्यसलाई आईसीसीले सरकारी हस्तक्षप देखाएको थियो।

आईसीसीले जिम्बावे क्रिकेटका पदाधिकारीलाई यो मुद्धा तीन महिनाभित्र समाधान गर्नका लागि अल्टिमेटम दिएको पनि छ। आईसीसीको बोर्ड बैठक अक्टोबरमा हुनेछ र सो बैठकमा पुनरावलोकन गर्न सकिने बताइएको छ।

Featured