देश

सरकारले बनायो विदेश जाँदा लैजान र फर्किंदा ल्याउन पाउने बस्तुरुको नयाँ सूची

काठमाडौँ, साउन १-नेपाल सरकारले विदेश जाँदा लैजान र फर्किंदा ल्याउन पाउने बस्तुरुको नयाँ सूची सार्वजनिक गरेको छ। सरकारले जेठ २५, २०७३ को सूचीलाई विस्थापित गर्दै नयाँ सूची सार्वजनिक गरेको हो।

सरकारले हाल जारी गरेको नयाँ सूची अनुसार विदेशबाट फर्कने नेपालीले अब काँचो सुन एकसय ग्रामसम्म भन्सार तिरेर ल्याउन पाउने छन्। काँचो सुनमा ५० ग्रामसम्म प्रति १० ग्राम ६ हजार २ सय र सोभन्दा माथि प्रति १० ग्रामको ७ हजार ३ सय रुपैयाँ राजश्व तिर्नु पर्ने हुन्छ। १ सय ग्राम भन्दा माथि काँचो सुन ल्याए जफत हुनेछ। ५० ग्रामसम्मको गहना निःशुल्क ल्याउन पाइने छ भने सोभन्दा माथि १ सय ५० ग्रामसम्म प्रति १० ग्राम ७ हजार २ सय र १ सय ५० ग्रामदेखि माथी प्रति १० ग्राम ९ हजार ३ सय रुपैयाँ भन्सार तिर्नु पर्नेछ।

विदेश बाट आउँदा अरु के के ल्याउन पाईन्छ?

विदेश बाट आउँदा आफु संगै चुरोट, एक लिटरसम्मका मदिरा, सात किलोसम्म खाद्य परिकार, २ हजार रुपैयाँसम्मको फलफूल र ५ हजार रुपैयाँ सम्मको खानेकुरा ल्याउन सक्नेछन्। यस्तै मोबाइल, ल्यापटप, ३२ इन्चसम्मको टीभी, ट्याबलेट, घडी, क्यामरा, पेनड्राइभ एक–एक थान। औषधि उपचार गराई बिरामीले ल्याएको औषधि, शारीरिकरुपमा अशक्त भएमा आफ्नो सहाराका लागि प्रयोग गरेका समाग्री। ५ सय ग्रामसम्मको चाँदीको गहना, एक लाख रुपैयाँ मूल्यसम्मको हिरा जडित सुन वा चाँदीका साथमा ल्याएको गहना भन्सार नतिरी ल्याउन पाउँछन्।

सरकारले यदि कोही व्यक्ति विदेश जाँदै छ भने उसले नेपाल मै उत्पादन भएको ५० हजार रुपैयाँसम्मको २१ केजी सम्मको सामान आफ्नो साथमा लान पाउने व्यवस्था गरिएको छ। नयाँ व्यवस्था अनुसार सीमानामा ओहोर दोहोर गरिरहने व्यक्तिका लागि भने भन्सारमा कुनै छुट वा साहुलियत दिएको छैन।

अर्थ मन्त्रालयले भन्सार ऐन २०६४ को प्रावधान अनुसार गरेको परिवर्तन हाल लागू भइरहेको छ। नयाँ आर्थिक वर्षको बजेटले घोषणा गरेका केही प्रावधान भने जेठ १५ जेठबाटै कार्यान्वयनमा आइसकेको छ।