साउन १, गैर आवासीय नेपाली संघ रसियाले सन २००२ सालदेखि जुन १२ तारिखका दिन एनआरएनए डे को रूपमा प्रत्येक बर्ष रसियामा बिभिन्न पेशा ब्यबासाय, अध्ययन एवं रोजगारीका शिलशिलामा रहनुहुने नेपालीहरू भेला भई बिभिन्न कार्यक्रम हरूका साथमा मनाउदै आईरहेको छ ।
यस बर्ष जुन १२ मा गैर आवासिय नेपाली संघ रसियाले नेपाल फेस्टिबलको आयोजना गरेकोले उक्त कार्यक्रम जुलाई २१ तारिख आईतबारका दिन सारिएको थियो ।
यस बर्षको कार्यक्रममा आदिकवि भानुभक्तको जन्म जयन्ति पनि एकैसाथ मनाउने निर्णय भए अनुसार बिश्व नेपाली साहित्य महासंघ रसिया र गैर आवासीय नेपाली संघ रसियाले संयुक्त रूपमा गर्ने भएको छ।
राजधानी शहर मस्कोबाट ८० कि.मी. टाढा ईस्त्रा नदीको तटमा रहेको मनोरम एवं सुन्दर स्थान ईस्त्रामा बिविध कार्यक्रमका साथ मनाउन लागिएको कुराको जानकारी ईस्त्रा पिकनिक एवं भानुजयन्ती ब्यबस्थापन समितिका संयोजक सुमन रिजालले हामीलाई बताउनु भएको छ।
कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नका लागी बिभिन्न संघ संस्था, नागरिक समाज एवं बिधार्थीहरू संग समेत सहकार्य गरी बिभिन्न उपसमितिहरूको गठन गरि कार्यबिभाजन गरिएको र सम्पूर्ण तयारीहरू अन्तिम चरणमा पुगिसकेको छ। बिगतका बर्ष हरूमा जस्तै यस बर्ष पनि विविध खेलकूद एवं सांस्कृतिक कार्यक्रमहरूका साथै भानुजयन्ती पनि साहित्यिक तथा भानु,”म र मेरो देश” शिर्षकमा खुला कविता प्रतियोगिताको पनि आयोजना गरिने भएको छ।
परदेशमा रहेर पनि आफ्नो भाषा, साहित्य एवं सांस्कृतिक परम्पराहरूको जगेर्ना गर्दै स्वदेशको बिकास का लागी एकजुट भई लाग्नुपर्छ भन्ने अभिप्रायले रसियामा रहेका अग्रज गैर आवासिय नेपालीहरूको पहलमा संसारभरी छरिएर रहेका नेपालीहरूलाई एउटै सुत्रमा बाध्ने अभियानको सुरूवातको रूपमा गैर आवासिय नेपाली संघ को स्थापना दिवसको रूपमा मस्कोमा बिशेष रूपमा मनाईदै आईरहेको छ।
प्रतिक्रिया दिनुहोस