विदेश

अमेरिकाले आफु विरुद्ध लगाइएको नाकाबन्दी हटाएमा मात्रै इरान वार्तामा बस्छ:राष्ट्रपति रौहानी

सिन्ह्वा, असार ३० अमेरिकाले आफु विरुद्ध लगाएको नाकाबन्दी हटाएमा मात्रै इरान अमेरिकासँग वार्ताको टेबलमा बस्न तयार रहेको इरानी राष्ट्रपति हसन रौहानीले बताउनुभएको छ। राष्ट्रपति रौहानी भन्नुभयो यदि अमेरिकाले इरानका विरुद्धमा लगाइएका सबै नाकाबन्दीहरुलाई हटाउँछ भने हामी उनीहरुसँग वार्ताको टेबलमा बस्न तयार छौँ।

‘हामी सधैँ वार्ताकै पक्षमा छौँ र जुनसुकै समयमा पनि वार्तामा बस्न तयार छौँ तर अमेरिकाले अरुलाई होच्याउने काम छोड्नुपर्छ। अमेरिका तर्कका साथ आफ्नो भनाईमा प्रस्तुत हुनुपर्ने साथै हामीमाथि लगाइएका सबै नाकाबन्दीहरु खारेज हुनुपर्छ’ राष्ट्रपति रौहानीले आइतबार इरानी समाचार समिति मेहर न्युज एजेन्सीलाई यस सम्बन्धी जानकारी दिनुभएको छ।

सन् २०१५ को मे महिनामा गरेको आणविक सम्झौता अमेरिकाले एकतर्फी रुपमा तोडेको थियो। सो वार्ता तोडेपछि अमेरिकाले इरानमाथि एकलौटी रुपमा नाकाबन्दी लगाएको थियो।

इरानले अमेरिकाको सो निर्णयपछि ६० दिनको चेतावानी दिएको र त्यतिबेला पनि युरोप र अमेरिकाले उक्त निर्णय नसच्याएको हुनाले  इरानले पनि सो सम्झौता तोड्नु परेको घोषणा गरेको थियो। यसकै कारण केही महिनायता अमेरिका र इरानबीचको विबाद झन उत्कर्समा पुगेको छ।

युरोपेली राष्ट्रहरुले यसको लागि अमेरिकालाई इरान संग वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न पनि आग्रह गरिरहेका छन्।

युरोपेली राष्ट्रहरुको दवाबका कारण पनि इरानका राष्ट्रपति रौहानीले वार्ताको प्रस्ताव गर्नुभएको अनुमान गरिएको छ। इरानको यो वार्ता प्रस्तावपछि अमेरिकाले  कुनै प्रतिक्रिया जनाएको छैन।

Featured