मस्को, असार ३० यहि आषाढ ३१ गते मंगलबार राती यो वर्षको पहिलो खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ। नेपाली समय अनुसार राती १:४६ मा स्पर्श गरेर ३:१५ मा मध्य र प्रात: ०४:४५ मा मोक्ष हुने यो ग्रहणको समयावधि जम्मा २ घण्टा ५९ मिनेटको रहनेछ। चन्द्रग्रहणको सूतक ग्रहण सुरुहुनु भन्दा ९ घण्टा अगाडी देखि लाग्ने शास्त्रीय मान्यता अनुसार ३१ गते दिउसॊ ४:४६ देखि नै बालक, वृद्ध, रोगी, अशक्त, बिरामीका अलावा अरुलाई भोजन गर्न निषेध गरिएको छ। ग्रहण अवधिमा भर जति सक्दो मन्त्रजप, ध्यान र भगवानको भजन कीर्तन गरेर विताउनु पर्दछ, ग्रहण अवधिमा गरिएको मन्त्रजप अरु बेला गरिएको जपको तुलनामा हजारौ गुणा बढी पुण्य फल पाप्त हुने मान्यता रहेको हुँदा ग्रहण अवधि भर नदि, खोला तथा तिर्थस्थलहरुमा गएर स्नान, जप, पूजा पाठ गर्नेहरुको भीड प्रशस्तै देख्न सकिन्छ।
निद्रायां जायते व्याधिर्मूत्रे दारिद्यमाप्नुयात् ।
परीषेकृमियोनिश्च मैथुनेग्रामशूकर:।।
अभ्यंजने भवेत् कुष्टिभोजनेस्यादधोगति:।
बन्धने च भवेत् सर्पोवधेत नरकं ब्रजेत ।।
अर्तात् ग्रहण कालमा सुत्यो भने रोगी हुने, पिसाब त्याग्दा दरिद्र हुने, दिशा गर्दा किरा हुने, मैथुन गरे गाउको सुंगुर हुने, शृंगार गरे कुष्ठ रोगी हुने, भोजन गरे अधोगति हुने, बाध्ने काम गरेमा सर्प हुने र मार्ने काम गर्नाले नरकमा पुग्नेछ भन्ने शास्त्रमा उल्लेख गरिएको छ। त्यसैले ग्रहण कालमा व्यर्थमा सुतेर, खाएर, अनावश्यक वार्तालाप गरेर या अन्य केही गरेर समय विताउनु हुदैन कुनै भगवद साधनामा समय खर्चिनु पर्छ भनेर शास्त्रले निर्देशन गरेका हुन्।
ग्रहण स्पर्श कालमा नै नुहाएर पवित्र भई शुद्द स्थानमा बसी जप तथा भगवद्स्मरणमा लाग्नु पर्दछ ,ग्रहणको मध्यमा पनि नुहाउनु पर्दछ भने ग्रहण मोक्ष भएपछि पनि नुहाउनु पर्दछ। यस पटकको चन्द्रग्रहण धनु तथा मकर राशिमा चन्द्रमा पुगेको बेलामा लाग्ने भएको हुँदा यी राशिका जातकले विशेष साबधानी अपनाउनु पर्ने देखिन्छ भने कर्कट, तुला, कुम्भ, मीन राशि हुनेहरुका लागि राम्रै देखिन्छ तर अन्य राशिका लागि भने सामान्य रहेको छ।
शास्त्रीय मान्यता अनुसार समुन्द्र मन्थनबाट निस्किएको अमृतलाई भगवान विष्णुले मोहिनी रुप धारण गरेर देवतालाई पिलाउने क्रममा स्वर्भानु नामगरेको दैत्य सूर्य र चन्द्रका विचमा बसेर अमृत पान गरेको विष्णुले थाहा पाएपछि सुदर्शन चक्रद्वारा त्यसको बध गरिन्छ। त्यहि दैत्यको आधा भाग राहु र आधा भागबाट केतु भएको हो। सूर्य र चन्द्रमाले विष्णुलाई पोल लगाइदिएर आफ्नो बध गराएको बदला लिनका लागि पर्वका दिन ग्रहण लाग्ने गर्दछ, ग्रहण अवधिमा सूर्य र चन्द्रमाको बल, तेज क्षीण हुने हुँदा त्यस अवधिमा भगवद्जपानुश्ठान गरेर समय विताउनु भन्ने शास्त्रीय मान्यता रही आएको छ भने पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकिदिन्छ। यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छायाँ देखिन्छ। छायाँको यस्तो अवस्था नै चन्द्रग्रहण हो। चन्द्रमाको पूरै भाग छायाँले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण हो भन्ने वैज्ञानिक मान्यता छ। चन्द्रग्रहण पूर्णिमा तिथीका दिन लाग्दछ।
आचार्य कुशल कुमार निरौला
मस्को, रुस महासंघ।
प्रतिक्रिया दिनुहोस