देश

वन्यजन्तुको त्रासमा मध्यवर्ती क्षेत्रका बासिन्दा

बाँके, कात्तिक २७–बाँके र बर्दियामा निकुञ्ज वरपर बस्नेहरू वन्यजन्तुबाट त्रसित बन्न थालेका छन् । मध्यवर्ती क्षेत्रमा बाघले मानव बस्तीमै पुगेर आक्रमण गर्न थालेपछि यस क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको छ । कात्तिक २३ र २६ गते जंगलमा घाँस-दाउरा गर्न गएका दुई महिलाले बाघको आक्रमणबाट ज्यान गुमाउनुपरेको छ । विसं २०७५ माघदेखि हालसम्म पाटेबाघको आक्रमणमा परेर बाँके र बर्दियामा सात जनाको मृत्यु भइसकेको छ । निकुञ्ज तथ्यांकअनुसार बाघको आक्रमणमा परेर बर्दियामा चार र बाँकेमा तीनको ज्यान गइसकेको छ ।

कात्तिक २३ गते शनिबार जंगलमा घाँस काट्न जाँदा कोहलपुर नगरपालिका-१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेत र मंगलबार राप्तीसोनारी-८ बालापुरकी ६० वर्षीया ठगी खड्का पाटेबाघको आक्रमणमा परे । वन्यजन्तुको बासस्थान क्षेत्रमाथिको अतिक्रमण, वन्यजन्तुको आहारामा कमी तथा मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ ।

पछिल्लो समय मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू(उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयीकरण एवं संकुचनले गर्दा वन्यजन्तु आफ्नो बासस्थान छाडी गाउँ बस्तीमा पस्ने गरेको देखिएको छ । यसबाट वन्यजन्तुका अतिरिक्त संरक्षित क्षेत्र वरपर बसोबास गर्ने समुदायको घर, खेत र कृषि बाली नोक्सानी हुनुका साथै मानवीय क्षतिमा समेत वृद्धि हुँदै गएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाले बताए ।

बाँके राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुका कारण आर्थिक वर्ष २०७५/७६ मा ४१८ घरधुरीमा क्षति पुगेको तथ्यांक छ । उनीहरूलाई क्षतिपूर्तिबापत निकुञ्जले ६० लाख ९३ हजार ४२ रुपैयाँ उपलब्ध गराएको छ । आर्थिक वर्ष २०७४/७५ मा बाँके निकुञ्जको वन्यजन्तुले ३०५ घरधुरीमा क्षति पु¥याएका थिए । उक्त आवमा वन्यजन्तुपीडितलाई १४ लाख २८ हजार ७२ रुपैयाँ रकम वितरण गरिएको निकुञ्जले जनाएको छ।

बाँके राष्ट्रिय निकुञ्जमा आव २०७५/७६ मा भएको सडक दुर्घटनामा ४५ वन्यजन्तु मारिएका छन् । निकुञ्जमा आव २०७४/७५ मा ७२ वन्यजन्तु मरेका थिए भने आव २०७३/७४ मा ८३ वन्जन्तु सडक दुर्घटनाबाट मारिएका थिए । आव २०७५/७६ मा राष्ट्रिय निकुञ्जले ४३१ वन्यजन्तुको उद्धार गरेको छ । आव २०७४/७५ मा ११ वन्यजन्तुको उद्धार गरेको निकुञ्जले जनाएको छ ।

मानव बस्तीमै पुगेर बाघले आक्रमण गर्न थालेपछि मानव वन्यजन्तु द्वन्द्वको खतरा बढेको पर्यटन व्यवसायी कृष्ण चौधरीको भनाइ छ । सरकारी तथ्यांकअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ र बाँके राष्ट्रिय निकुञ्ज २१ पाटेबाघ छन् ।

देशमै बाघको संरक्षणमा लागेको सरकार र स्थानीयवासीको सक्रियताले बाघको संख्या बढे पनि आहाराको कमीले मानव बस्तीमा पुगेर वन्यजन्तुको आक्रमण र मानव(वन्यजन्तुबीचको द्वन्द्व घटाउन सरोकारवालाहरू गम्भीर हुनुपर्ने स्थानीयको भनाइ छ । (रासस)

Featured