देश

बंगलादेशका राष्ट्रपति हमिद र नेकपा अध्यक्ष प्रचण्डबीच भेट

काठमाडौं, कात्तिक २७–नेपालको चारदिने भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । मंगलबार नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदले बुधबार बिहानदेखि राजनीतिक भेटवार्तालाई निरन्तरता दिएका हुन् । सोही क्रममा उनले दाहालसँग भेट गरेका हुन् ।

भेटवार्ताका लागि प्रचण्ड राष्ट्रपति हमिद बसेको होटल म्यारियटमा पुगेका थिए । प्रचण्डभन्दा अगाडि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले हमिदसँग भेट गरेका थिए । राष्ट्रपति हमिदले २ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्नेछन् भने दिउँसो २ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग र सवा ३ बजे उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग भेट गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि राष्ट्रपति हमिद समकक्षी विद्या भण्डारीलाई भेट्न शितलनिवास जाने कार्यक्रम छ । राष्ट्रपतिसँगको भेटवार्तापछि राष्ट्रपति हमिद उनकै सम्मानमा आयोजित रात्रिभोजमा सहभागी हुनेछन् । हमिदको सम्मानमा राष्ट्रपति भण्डारीले दरबारमार्ग्स्थित होटल याक एण्ड यतीमा साँझ साढे ६ बजे रात्रिभोजको आयोजना गरेकी छन् ।

Featured