देश

आगलागीबाट दुई घर नष्ट, एक बालिका बेहोस

राजविराज, कात्तिक २७–सप्तरीको छुट्टाछुटै स्थानमा मंगलबार भएको आगलागीबाट दुई घरमा क्षति भएको छ । जिल्लाको रुपनी गाउँपालिका–३ मा आगलागी हुँदा करीब दुई लाख मूल्य बराबरको क्षति भएको प्रहरीको अनुमान छ । स्थानीयवासी विनोदकुमार मण्डलको एकतले टिनको छानो भएको फुसको घरमा विद्युतीय तार सर्ट भई आगलागी हुँदा सो घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

सो आगलागीमा घरभित्र रहेका लताकपडा, अन्नपात, भाडावर्तन, नगद जिन्सीसहित एक थान मोबाइल गरी करीब दुई लाख मूल्य बराबरको सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका सीताराम यादवको एकतले फुसको घर जलेर नष्ट भएको छ । भान्साघरमा खाना पकाउने क्रममा चुल्होबाट आगो सल्किँदा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सो आगलागीबाट फुसको घर आंशिकरूपमा जलेर नष्ट भएको र सो घरभित्र रहेको लत्ताकपडा, अन्नपात गरी करीब ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागी भएको ठाउँमा सो आगो देखिरहेकी सीताराम यादवका १५ वर्षीया छोरी संगीताकुमारी यादव बेहोस भएकी छन् । बेहोस भएकी उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।(रासस)

Featured