देश राजनीति

निर्वाचन आयोगको प्रस्टीकरणप्रति कांग्रेसको ध्यानाकर्षण

काठमाडौं, कात्तिक २६–सरकारले प्रदेश प्रमुख बर्खास्त गरेको विषयमा निर्वाचन आयोगले दिएको प्रष्टिकरणप्रति नेपाली कांग्रेसले पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । प्रदेश प्रमुख अदलबदल गरिँदा ‘निर्वाचन आचारसंहिता नमिचिएको’ भनेर आयोगले दिएको प्रष्टिकरणप्रति कांग्रेसले असहमति व्यक्त गरेको हो ।

कांग्रेसले मंगलबार विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिताको परिच्छेद—४ को ९ मा ‘नयाँ पद सृजना गर्न या रिक्त पद पूर्ति गर्न’ समेत नपाइने प्रष्ट व्यवस्था उल्लेख भएको स्मरण गराएको छ । कर्मचारीका हकमा मात्रै भन्ने तर्क दिएर उन्मुक्ति खोज्नु नैतिक दृष्टिले सतप्रतिशत गलत हुने कांग्रेसको तर्क छ ।

‘आचारसंहिता आचार र ब्यवहारसँंग सम्बन्धित नैतिक दायराको बन्दोबस्त हो । आचारसंहिता लागू भएपछि रिक्त पद समेत पूर्ति गर्न नपाइने प्रस्ट ब्यवस्था उल्लेख हुंदाहुंदै निर्वाचन आयोगले प्रदेश प्रमुखहरु बर्खास्त प्रकरणमा एकांगी धारणा सार्वजनिक गर्नु आपत्तिजनक छ ।’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वार जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगसँग पूर्व सहमति लिएर अत्यावश्यक निर्णय लिन मिल्ने आवश्यकताको सिद्धान्त आकर्षित भएको नदेखिनु तर निर्वाचन आयोग जस्तो साझा संवैधानिक निकायले निरिहता प्रकट गर्नुलाई आगामी दिनको हाम्रो लोकतान्त्रिक अभ्यासका लागि सुखद संकेत मान्न सकिन्न ।’

केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा रहेकोे उपनिर्वाचन अनुगमन तथा निर्वाचन आयोग समन्वय समितिले यस विषयमा केही दिनभित्रै निर्वाचन आयोगको नेतृत्वलाई भेटेरै ध्यानाकर्षण गराउने भएको छ । भारतल अतिक्रमण गरेको नेपाली भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनैतिक र राजनैतिक पहल गर्नुपर्ने कांग्रेसको धारणा छ । यसका लागि सरकारलाई कांग्रेसको खुला र प्रष्ट समर्थन रहने विज्ञप्तिमा उल्लेख छ । उपनिर्वाचनकेन्द्रित मुद्दा र धारणाहरु पार्टीले केही दिनमा सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ ।

Featured